Biratnagar, Morang, Nepal
२६ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

सुन चोर्ने र खरिद गर्नेबीच मिलापत्र

चोरीको सुन खरिद गरेका साहले चिनजानको मानिस भएकाले खरिद गरेको स्विकार गरेपछि सुनचाँदी ब्यवसायी संघ विराटनगरको मध्यस्थतामा मिलापत्र भएको बताइएको छ । चोरीको सुन खरिद गर्ने साहले पीडितलाई सुनको मुल्य बराबरको चेक दिएर प्रहरीमा जाहेरी नदिन आग्रह गरेका थिए ।
उद्‌घोष सम्वाददाता
१५ साउन २०८१, मङ्गलवार

चोरीको सुन खरिद गरेर क्षतिपूर्ति दिएको बाबा ज्वेलरी पसल । तस्वीर: उद्घोष

विराटनगर । सुन चोरी गर्ने र चोरीको वस्तु खरिद गर्नेबीच मिलापत्र भएको छ । कसैको घरबाट चोरिएको सुन खरिद गर्ने ब्यवसायीले पीडितलाई क्षतिपूर्ति दिएपछि चोरसँग सहमति भएको हो ।

विराटनगर–९ ठाकुरबाडी (रामजानकी) रोडमा रहेको बाबा ज्वेलरीले सुनधनी कटहरीका एक ब्यक्तिलाई क्षतिपूर्ति दिएपछि चोरसँग मिलापत्र भएको छ । मिलापत्रमा चोरीमा संलग्न ललिता शर्मासँग खरिदकर्ता र बाबा ज्वेलरीका सञ्चालक सुबोध साहले हस्ताक्षर गरेका छन् । चोरीको सुन बिक्री गर्ने शर्माले खरिदकर्ता साहबाट ऋण लिएको नक्कली विवरण बनाएर लेनदेनको कागज गरिएको छ ।

घटना विवरणअनुसार कटहरी–२ का एक ब्यक्तिले छिमेकी शर्मालाई आफ्नो घरमा राखिएको महिला र पुरुषले लगाउने बिभिन्न खाले सुनका गहना चोरेको आरोप लगाए । प्रहरी कारवाही नगराउने आश्वासनपछि शर्माले चोरी स्विकार गर्दै सुनसरीको खनारको एक ज्वेलरी पसलमा बिक्री गरेको बताएकी थिइन् । शर्माले गहना चोरिएको घरधनीलाई खनार लगेर झुक्याएकी थिइन् ।

खनारमा पुगेपछि उनले विराटनगरको बाबा ज्वेलरीमा बिक्री गरेको बताएपछि त्यहाँ सोधखोज गरिएको थियो । चोरीको सुन खरिद गरेका साहले चिनजानको मानिस भएकाले खरिद गरेको स्विकार गरेपछि सुनचाँदी ब्यवसायी संघ विराटनगरको मध्यस्थतामा मिलापत्र भएको बताइएको छ । चोरीको सुन खरिद गर्ने साहले पीडितलाई सुनको मुल्य बराबरको चेक दिएर प्रहरीमा जाहेरी नदिन आग्रह गरेका थिए ।

बाबा ज्वेलरी पसल अगाडिको बोर्डमा दुई वटा मोबाइल नम्बर उल्लेख छ । त्यसमध्ये एउटामा फोन गर्दा ब्यवसायी साहले ‘यो फोन नम्बर तपाईलाई कस्ले दियो ?’ भन्ने प्रश्न गरे । चोरीको सुन खरिद गरेर मिलापत्र भएको विषयमा फोन मार्फत जिज्ञासा राख्दा ब्यवसायी साहले भने– ‘करोड घोटाला गर्नेलाई फोन गर्नु नि हामी जस्तो सानो तिनो काम गर्नेलाई किन फोन गर्नुहुन्छ ।?’

चोरीको सुन खरिद गरेको बारे नबताएपछि मिलापत्र गरेको बारे उनलाई पुनः प्रश्न गर्दा ब्यवसायी संघलाई सोध्नू भनेका थिए । सुनचाँदी ब्यवसायी संघ विराटनगरका उपाध्यक्ष कमलेश अग्रवालले चोरीको सामान किनेकोमा बिवाद बढ्न सक्ने भएकाले ब्यवसायीसँग मिलापत्र गराइएको जानकारी दिए ।

पाँच महिना अघि चोरिएको सुन खरिद गर्नेबाट रकम पाएपछि सुनधनी पनि प्रहरीमा उजुरी नगर्नेमा सहमति आएको बताइएको छ ।

सुन चाँदी ब्यवसायी संघ विराटनगरका अध्यक्ष शशिभुषण साह भने चोरीको सुनमा मिलापत्र गराएको विषयमा संघका सदस्य र उपभोक्ता बीच समझदारी भएकाले मिलापत्रमा सहजीकरण मात्रै गरिएको बताउँछन् । चोरीको घटना लुकाउने भन्दा पनि पीडित र पीडकबीच सहमति भएकाले सहजीकरण मात्रै गरिएको उनले दाबी गरे ।

स्रोतका अनुसार गत फागुनमा सुन चोरी गरी शर्माले बिक्री गरेकी थिइन् । सुनधनीले असारमा मात्रै आफ्नो घरबाट धेरै खाले गहना चोरी भएको थाहा पाएका थिए ।

लाखौं मुल्य पर्ने सुन चोरेर पनि कारवाहीमा नपरेकी शर्मा मिलापत्रपछि माइतीघरमा गएर बस्न थालेको बताइएको छ । कतिपय ब्यवसायीले चोरीको सुन खरिद मात्रै हैन धितो राखेर ऋण लगानी पनि गर्दै आएका छन् ।
 

View : 268

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved