Biratnagar, Morang, Nepal
२९ चैत २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

उद्योगको लाइन काटेर राष्ट्रिय उद्यमको संस्कृति बन्दैन : एमाले उपाध्यक्ष बराल

उद्‌घोष सम्वाददाता
२८ साउन २०८१, सोमवार

विराटनगर, २८ साउन । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बरालले नेपाल विद्युत प्राधिकरणले उद्योगको विद्युत काटेर राष्ट्रिय उद्यमशीलताको प्रतिकुल कार्य गरेको टिप्पणी गरेका छन् । उपाध्यक्षमा मनोनित भएपछि पहिलो पटक सोमबार गृह जिल्ला मोरङ आएका बरालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको सम्वादमा उद्योग लाइन काटिएको विषयमा असन्तुष्टि जनाएका हुन् ।

बरालले अहिलेको समयमा अनिवार्य आवश्यकता बनेको विद्युत लाइन काट्ने कुरा अव्यवहारिक भएको बताए । त्यसमा पनि हजारौं कर्मचारी र मजदुर काम गर्ने उद्योगको लाइन काटेर उनीहरूलाई बेरोजगार बनाउन नहुने बताए । तर सिधै गएर जंगली ढाँचामा उद्योगको लाइन काटिएको भन्दै प्राधिकरण ‘अँधेरी नगरी चौपट राज’ को शैलीमा उत्रिएको आरोप लगाए ।

‘विद्युत उद्योगको अनिवार्य आवश्यकता हो, एउटा उद्योग बन्द हुनु भनेको हजारौं कर्मचारी र मजदुर बेरोजगार हुनु हो, राष्ट्रिय उत्पादन घट्नु हो, बैंकको लगानी अप्ठेरो पर्नु हो’ उपाध्यक्ष पोखरेलले भने, ‘उद्योगपतिलाई ल्याउने बोलाउने काम गर्न सकिन्छ तर सिधै जाने र जंगली ढाँचाले लाइन काटिदिने तरिकालाई स्वीकार गर्न सकिँदैन ।’

प्राधिकरणले अहिलेको अवस्थामा कसैको पनि लाइन काट्न नहुने उनले बताए । उपाध्यक्ष बरालले असुल गर्नुपर्ने महसुललाई अन्य प्रक्रियाबाट पनि उठाउन सकिने बताए । 

‘उद्योगपतिहरूको करोड र अर्बको लगानी छ, उनीहरुले ढिलो तिरे भने ‘ख’ गराउन सकिन्छ’ उनले भने, ‘अरु व्यवस्था गर्न सकिन्छ, राजश्व असुलीका अरु व्यवस्थाहरू छन्, असुलीका अरु व्यवस्था छन्, उसको धन सम्पति माथि प्रश्न खडा गर्न सकिन्छ तर सोझै लाइन काट्ने कुराले मुलुकको राष्ट्रिय उद्यमको नयाँ संस्कृति बन्दैन ।’ 

प्रधानमन्त्रीले काटिएको लाइन तत्काललाई जोड्ने, राष्ट्रिय उद्योगहरूलाई चल्न दिने र सँगै महसुल असुलीको प्रकृया पनि अगाडि बढाउन खोजेको भएपनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसलाई ‘डिनाई’ गरेर गलत तरिकाले हल्ला चलाएर दाबी गरे । 

उनले समाज परिवर्तनका लागि स्वच्छ राजनीतिको आवश्यकता पर्ने बताए । राजनीतिसँग जनताको असन्तुष्ट नभएपनि भ्रष्टाचार, अनियमितता, व्यभिचार र ढिलासुस्ती आदिसँग असन्तुष्टि व्यक्त गरिरहेको बताए ।

View : 256

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved