Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा १५ जोडीको सामूहिक विवाह सम्पन्न

उद्‌घोष सम्वाददाता
६ वैशाख २०८१, बिहिवार

विराटनगर । माहेश्वरी महिला मञ्चले बिहीबार विराटनगरमा १५ जोडीको सामूहिक विवाह गरिदिएको छ ।

विवाह गरेका प्रत्येक दुलहीहरूलाई सुनको तिलहरी, कानमा सुनकै गहना, फुली, चाँदीको पाउजु, बिछिया, पोते, लेहंगा दुपट्टा, सारी चोलो, कुर्ता सुरुवाल तथा बेहुलालाई सर्टपेन्ट, रजाई, छाता लगायतका सामग्री उपहारस्वरुप प्रदान गरिएको जनाइएको छ ।

त्यसैगरी विवाहित प्रत्येक जोडीहरूलाई मेकअपका सामग्री, भान्सामा आवश्यक पर्ने भाँडाकुँडा, खाद्यान्न र नगद ११ हजार रुपैयाँ समेत प्रदान गरिएको हो ।

मञ्चकी अध्यक्ष पुनम राठीले करीव ३५ लाख रुपैया“ सहयोग रकम जुटाएर १५ जोडीको सामूहिक विवाह गरिदिएको बताइन् । विवाहको मण्डपस्थल अतिथि सदनमा बनाइएको थियो ।

विराटनगरकै विराटेश्वर शिव मन्दिरबाट बेहुलासहितको जन्ती निस्किएर बेहुली लिन अतिथि सदन पुगेको थियो । जन्तीलाई उद्योगी व्यापारीहरूले बाटोमा पानी र मिठाइ लगायतले स्वागत गरेका थिए ।

त्यहाँ आयोजित औपचारिक कार्यक्रममा बेहुला बेहुलीले एक अर्कालाइ माला लगाइदिएका थिए ।  त्यसपछि आ–आफ्नो धार्मिक परम्पराअनुसार पुरोहितले बैवाहिक कर्म गराएका थिए । सामूहिक विवाहमा सहभागीहरूलाई भोजको पनि व्यवस्था गरिएको थियो ।

विवाह समारोहमा विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीसहित माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबरा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, परिसंघ कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, उपाध्यक्ष रमेश राठी, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उद्योगी महेश जाजु, चम्पालाल राठी, समाजसेवी भिखमचन्द सरल, बेनिगोपाल मुन्दडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

माहेश्वरी महिला मञ्चकी अध्यक्ष पुनम राठीको अग्रसरतामा सामूहिक विवाह समारोह गरिएको जनाइएको छ । अति विपन्न परिवारका व्यक्तिहरूले छोरीहरूको विवाह गर्न नै कठिन हुने भएकोले उनीहरूलाई सहयोग गर्दै विवाह समारोह आयोजना गरिएको अध्यक्ष राठीले बताइन् ।

View : 392

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved