Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

राधाकृष्ण रथयात्रामा चोरीका घटना उल्लेख्य

१३ ठाउँमा खटिएका सादा पोसाकका प्रहरीद्वारा १५० जना पक्राउ

उद्‌घोष सम्वाददाता
११ भदौ २०८१, मङ्गलवार

चोरीका घटनामा पक्राउ परेका व्यक्तिहरुलाई प्रहरीले भ्यानमा हाल्दै । तस्वीर : उद्घोष

विराटनगर । ऐतिहासिक राधाकृष्ण रथयात्राका क्रममा चोरी, लुटपाट र अराजक गतिविधिमा संलग्न रहेको आरोपमा डेढ सयको हाराहारीमा मानिसहरू पक्राउ परेका छन् । मंगलबार विराटनगरमा भएको रथयात्रा समापन हुनु अगावै राति ९ बजेसम्ममा यतिका मानिस पक्राउ परेका हुन् ।

एसियाकै ठूलो मध्येको धार्मिक उत्सवका रुपमा लिइएको विराटनगरको राधाकृष्ण रथयात्रामा धार्मिक भावले आउने गरेकाहरू धेरै छन् । तर कतिपय भने चोरी लुटपाट नै गर्ने उद्देश्यले पनि भारतदेखि मानिसहरू आउने गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकामध्ये मोरङ जिल्ला बाहिरका र भारतीयहरू धेरै रहेको प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । यतिका मानिस पक्राउ गरिएपछि प्रहरीलाई नियन्त्रणमा लिएर राख्न समेत हम्मे परेको छ ।

मोरङ प्रहरीका अनुसार चोरीमा संलग्न मध्ये धेरैले महिलाले बोक्ने ब्याग ब्लेडले काटेर मोबाइल फोन र रकम चोरेका छन् । केहीलाई तत्कालै पक्राउ गरेको र केहीलाई भने मानिसहरुले पहिचान गरेर प्रहरीको सहयोगमा पक्राउ गरेको जनाइएको छ ।

रथयात्रामा हुने चोरी, झगडा र दुर्व्यवहार निगरानी गर्न प्रहरीले सादा पोसाकमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । विराटनगरका १३ वटा स्थानमा सादा पोसाकका सुरक्षाकर्मीले समूह बनाएर निगरानी गरेका थिए । 

प्रहरीले सोमबार नै पनि ४० जनालाई नियन्त्रणमा लिएको थियो । चोरीमा संलग्न हुन सक्ने आशंकामा रथयात्राको पूर्वसन्ध्यामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई बुधबार उपस्थित हुने सर्तमा छाडिएको जनाइएको छ । 

रथयात्रामा चोरको बिगबिगी हुने भएकाले प्रहरीले पहिलेदेखि नै शङ्कास्पद व्यक्तिहरूको निगरानी गर्दै सीमावर्ती क्षेत्रमा पनि कडाइ गरेको थियो ।

काम नदेखाई अनावश्यक रुपमा विराटनगर छिर्न खोज्ने भारतीयलाई सोमबार जोगवनी नाकाबाटै प्रहरीले फर्काएको थियो । 

पक्राउ परेकाहरूलाई रथयात्रा सकिएपछि प्रमाणका आधारमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । उनीहरूको पुरानो अभिलेख हेरेर पटकेमा मुद्दा चलाइने प्रहरीको भनाइ छ । 

पक्राउ परेका मध्ये कतिपय फरार अपराधीहरू पनि हुन सक्ने भएकाले अभिलेख हेरिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

सुरक्षा र सम्भावित चोरी तथा अन्य घटना नियन्त्रण गर्न मोरङ प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी संयुक्त रुपमा परिचालन गरिएको थियो ।

View : 675

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved