Biratnagar, Morang, Nepal
२६ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

मौद्रिक नीति २०८१–८२ बाट सन्तुलन र स्थिरताको आस

सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने एफएनसीसीआई कोशीको विश्वास

उद्‌घोष सम्वाददाता
१२ साउन २०८१, शनिवार

विराटनगर । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने उद्योगी व्यवसायीहरूले बताएका छन् । मौद्रिक नीतिबाट अर्थतन्त्रमा सन्तुलन र स्थिरताको आशमा बसेका उद्योग व्यवसायी सम्वद्ध संघ संस्थाहरुले समग्रमा यसपटक भने केही आशा व्यक्त गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमाथि आफ्नो धारणा राख्दै कर्जा समायोजन, शेयर धितो कर्जाको सीमामा वृद्धि, बन्द उद्योगको साँवा व्याजमा सहजीकरण, साना व्यवसायीलाई राहत हुने गरी कर्जा सीमा र आधार दर हेरफेर, चेक अनादर तथा कालोसूची सम्बन्धी व्यवस्थालाई खुकुलो पार्ने लगायतका व्यवस्थाले निजी क्षेत्रलाई राहत मिलेको बताए ।

उनले सम्पत्ति व्यवस्थापन कम्पनी सम्बन्धी कानुन निर्माण, परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ऋणीलाई ब्याज भुक्तानीमा कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्थाले राहत मिल्ने बताए ।

त्यसैगरी निर्माण व्यवसायीहरूलाई कर्जा प्रवाह भएको कर्जाको सावाँ र ब्याज तिर्ने समय २०८१ मङ्सिरसम्म थप गर्ने र व्यवसायीहरूलाई चेक अनादर भएको आधारमै कालोसूचीमा राख्ने व्यवस्थालाई  हटाएर विकास निर्माण कार्यमा सहजता प्रदान हुने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष राउतले जोइन्ट भेन्चर (जेभी) मा संलग्न कुनैपनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको पनि बैंकिङ काम कारवाहीमा असर नपर्ने व्यवस्था सकारात्मक भएको बताए । 

तर उत्पादक क्षेत्रलाई अघि बढाउनका लागि भने मौद्रिक नीतिले खासै ठोस सम्बोधन नगरेको उनले बताए ।

उनले चालु पुँजी कर्जा मार्गदर्शनमा उल्लेखित भेरियन्स एनालाइसिस गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थालाई २०८२ श्रावण १ गतेबाट लागु गर्ने उल्लेख गर्दा केही राहत मिलेको तर उद्योगको वर्गीकरणबिक्रीको अनुपातमा चालु पुँजी कर्जाको सीमालाई नहेरिएकोले उत्पादनमूलक उद्योगलाई राहत नहुने बताए ।

त्यसैगरी व्यवसायीहरूले उठाउँदै आएको उधारो कारोबार सम्बन्धी कानुनको विषयमा मौद्रिक नीतिमा कुनैपनि सम्बोधन नभएका कारण व्यवसायीहरूको जोखिम कायमै रहेको बताए ।

राष्ट्र बैँकका गभर्नर अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिप्रति पूर्वका उद्योगी व्यवसायीहरूले समग्रमा सकारात्मक भनेका छन् । उनीहरूले विगत वर्षहरूको तुलनामा यस आवको मौद्रिक नीतिलाई नरम भनेका छन् । 

व्यवसायीहरूले मौद्रिक नीतिले अर्थतन्त्रमा सन्तुलनको खोजी गरेको भन्दै अर्थतन्त्रलाई स्थिरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

View : 279

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved