Biratnagar, Morang, Nepal
२९ चैत २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

काेशी सरकारको १०० दिने तयारी

मुख्यमन्त्रीले नागरिक संवाद गर्ने, देखिने काम गर्न सचिवहरूलाई निर्देशन

उद्‌घोष सम्वाददाता
२९ साउन २०८१, मङ्गलवार

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार गठन भएको साउन ३२ गते एक सय दिन पुग्दैछ । सरकारको सय दिन पुग्न लाग्दा मुख्यमन्त्री कार्की माओवादी केन्द्रसँगको सत्ता सहयात्रा टुङ्ग्याएर नेपाली काङ्ग्रेससँगको यात्रा सुरु गर्ने तयारीमा जुटिरहेका छन् ।

सत्ता यात्रा सय दिन पुगेको अवसरमा उनले नागरिकसँग संवाद गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले सय दिन अगाडि नै मातहत मन्त्रालयका सचिवहरूलाई जनताले देख्नेगरी काम गर्न निर्देशन दिएका छन् ।

उनले मङ्लबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै प्रदेशको आम्दानी बढ्ने र नागरिकले देखिनेगरीको काम गर्न निर्देशन गरेका हुन् ।

प्रदेश संरचना माथिको आलोचनालाई कम गर्ने र प्रदेशका कामहरूलाई जनतामाझ बढिभन्दा बढि पुर्याउनु पर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘अब आलोचना कम हुनेगरि काम गर्नुहोस् ।’ 

सय दिनकै अवसरमा मुख्यमन्त्री कार्कीले विभिन्न क्षेत्रसँग सुझाव सङ्कलन गर्ने तयारी गरेको बताएका छन् । त्यस्तो सुझाव विराटनगरका उद्योगी व्यवसायी, शैक्षिक क्षेत्रका अगुवा, पत्रकार तथा पेशागत क्षेत्रका व्यक्ति र विद्यालय तहमा अध्ययन गरिरहेका बालबालिकासँग लिइने मुख्यमन्त्रीले बताएका हुन् । 

उक्त कार्यक्रमबाट नागरिक तहबाटै प्रदेश सरकारलाई राय सुझाव आउने अपेक्षा गरिएको उनले बताए । सय दिनको अवसरमा साउन ३२ गते बेलुका ७ बजेदेखि ८ बजेसम्म नागरिकसँग फेसबुक पेजमार्फत लाइभ संवाद पनि गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले ३२ गते आफ्नो १०० दिनको उपलब्धिहरू भने पत्रकारहरु मार्फत सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ ।

View : 228

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved