Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो

उद्‌घोष सम्वाददाता
३ असोज २०८१, बिहिवार

काठमाडौँ, ३ असोज । यही असोज १ गते विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरेका भक्तजनले काठमाडौँ उपत्यकाका नदीको मुहानस्थित पवित्र तीर्थस्थलमा प्रतिमा सेलाउन थालेका छन् ।

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन असोज १ गते कालीगढले विश्वकर्माको पूजा आजा गरी विश्वकर्मा दिवस मनाएका थिए । त्यसको भोलिपल्ट बुधबार बेलुकीदेखि नदीको मुहान क्षेत्रका तीर्थस्थलको पवित्र जलमा लगी बाबा विश्वकर्माको प्रतिमा सेलाउन थालिएको हो ।

असोज १ गते विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरिएको थियो । बालुवाबाट बनाइएको मूर्ति नदीको मुहान क्षेत्रका पवित्र तीर्थस्थलमा सेलाइन्छ । तस्वीरलाई भने नियमितरुपमा पूजा आराधना गर्ने विधि छ ।

बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती नदीको मुहानस्थल सुन्दरीजल, रुद्रमती र विष्णुमती नदीको मुहानस्थल बूढानीलकण्ठ एवं मनोहरा नदीको मुहानस्थल साँखु क्षेत्रमा सेलाउन थालिएको हो । विश्वकर्माको प्रतिमालाई विभिन्न नदीको मुहानस्थित पवित्र तीर्थस्थल वा अन्य शुद्ध जल भएको स्थलमा लगी सेलाउने गरिन्छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रबीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउछन्।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रबीचमा रहेको विश्वास गरिन्छ ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै तयार पारेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउछन् ।

यही सम्झनामा नेपालका कालीगढले असोज १ गते भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् ।

यसरी पूजा गरिएको प्रतिमालाई पूजा सकिएको २४ घण्टापछि सेलाउने क्रम सुरु गरिन्छ । तीन दिनसम्म विश्वकर्माको प्रतिमा सेलाएर सक्ने विधि रहेको छ । रासस

View : 153

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved