Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

मानव बेचविखन तथा ओसारपसारबारे अभिमुखीकरण

उद्‌घोष सम्वाददाता
२१ भदौ २०८१, शुक्रवार

विराटनगर । मानव बेचविखन तथा ओसारपसारविरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा माइती नेपाल विराटनगरले सीमा क्षेत्रका बालबालिकासँग अभिमुखीकरण गरेको छ ।

विराटनगर महानगरपालिकाको सहयोग र इलाका प्रहरी कार्यालय रानीको समन्वयमा माइती नेपालले आयोजना गरेको कार्यक्रममा  सीमा नजिक रहेको विराटनगर–१५ को जनविकास माविमा अध्ययनरत विद्यार्थीलाई मानव बेचविखनका सवालमा माइती नेपालले गर्ने कार्य र सामाजिक सञ्जालको नकारात्मक प्रभावको बारेमा माइती नेपालको तर्फबाट प्रशिक्षण दिइएको थियो । 

प्रहरीले मानव बेचविखन र लागुऔषधका कानुनी प्रावधानहरूको बारेमा विद्यार्थीलाई अभिमुखीकरण गरेको थियो । कार्यक्रममा माइती नेपालको मनोपरामर्शकर्ता गीताञ्जली शर्माले माइती नेपालको कार्यको बारेमा जानकारी गराउँदै सामाजिक सञ्जालको नकारात्मक प्रभावको विषयमा प्रशिक्षण दिएका थिए ।

माइती नेपाल संयोजक विनोद पोखरेलले मानव बेचविखन र त्यसको कारण, किसिम, तरिकाहरूको बारेमा विस्तृतरुपमा संस्थाको तथ्याङ्क प्रस्तुत गर्दै बालबालिकाहरूलाई सचेत गराएको थियो । 

संयोजक पोखरेलले सीमा नाकाबाट गत वर्ष १५९ जनाको उद्धार गरेको जानकारी दिए । सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्म सीमा नाकाबाट विभिन्न कारणले रोकिएको बालिका तथा महिलाहरूमा कामको खोजीमा गएका १९, साथी तथा आफन्तको लहैलहैमा लागेर हिंडेका २२, घुम्न हिंडेका ७, सामाजिक सञ्जालको प्रभावमा परेका ४९, प्रेम विवाहको प्रभावमा परेका १४, पारिवारिक बेमेलका २६, नेटवर्किङ व्यापारको प्रभावमा परेका २२ जना गरी १५९ जनाको उद्धार गरिएको बताए । 

इलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक प्रकाश थापाले विद्यार्थीलाई आवश्यक विषय लागूऔषध र मानव बेचविखनविरुद्धको कानुनी व्यवस्थापनको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा जनविकास माविका कक्षा ८, ९ र १० गरी एक सय विद्यार्थीको सहभागिता रहेको थियो ।

वडा नम्बर १० मा पनि कार्यक्रम

यसैबीच मानव बेचजिखनविरुद्धको दिवसका अवसरमा विराटनगर महानगरपालिका वडा कार्यालय १० ले पनि कार्यक्रम गरेको छ । वडाध्यक्ष अर्जुन गिरीको सभापतित्वमा भएको कार्यक्रममा फरेन नेपालका सचिव खिला निरौलाले मानव बेचविखन के कसरी भइरहेको छ भन्ने विषयमा चर्चा गरेका थिए । 

View : 127

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved