Biratnagar, Morang, Nepal
२९ चैत २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

प्रभावित क्षेत्रमा सचेतनामा जोड

उद्‌घोष सम्वाददाता
१३ कार्तिक २०८१, मङ्गलवार

विराटनगर । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रभावित क्षेत्रमा सचेतना कार्यक्रम आवश्यक रहेको भन्दै सरोकारवालाहरूले जोड दिएका छन् । 

प्रभावित क्षेत्रमा समुदायस्तर र विद्यालयस्तरमा सचेतना आवश्यक रहेको उनीहरूको जोड छ ।

मानव बेचविखन तथा ओसारपसारविरुद्ध जिल्ला कार्यसमिति बैठकमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको बताए । उनले पराम्परागत भन्दा पनि प्रविधिको प्रयोगबाट नतिजा निकाल्न सकिने बताए ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि महानगरपालिका आवश्यक सहयोगका लागि तयार रहेको पनि उनले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रभावित क्षेत्रमा सरोकारवालाहरूको बैठक तथा सचेतना कार्यक्रम गर्नु आवश्यक रहेको बताए । राज्यका निकायले गर्न नसकेको काम माइती नेपालले गरिरहेकाले सरोकारवाला निकायले पनि मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि कार्य गर्न आवश्यक रहेको बताए । 

मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले प्रभावित क्षेत्रका विद्यालय र समुदायस्तरमा निरन्तर सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । उनले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि आवश्यक प्रशिक्षण दिलाइदिन माइती नेपाल समक्ष आग्रह समेत गरे ।

खोजतलास तथा समन्वय केन्द्र १०४ का समन्वय अधिकृत सुमन अधिकारीले मोरङमा ६३ किलोमिटर खुल्ला सीमा क्षेत्र रहेकाले मानव वेचविखनको क्षेत्रमा कार्यरत संस्थाहरूले रानी क्षेत्रस“गै अन्यन्त्र पनि काम गर्नुपर्ने अवस्था रहेको बताए ।

बैठकमा माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले पछिल्लो १० महिनाको मानव बेचविखन तथा ओसारपसारबारे मोरङको अवस्थाबारे प्रष्ट पारेका थिए । उनले गत जनवरीदेखि अक्टोवरको हालसम्म २१ जिल्लाका  १८३ जनालाई सीमा क्षेत्र रानी विराटनगरबाट रोकिएको बताए । मोरङका मात्रै ६६ जनालाई सीमा क्षेत्रबाट रोकिएको उनले जानकारी दिए । 

रोकिएकामध्ये विराटनगरका ७ अन्य १६ वटा स्थानीय तहका ५९ जना छन् । संयोजक पोखरेलका अनुसार १० महिना भित्रमा २ जनालाई उद्धार गरिएको र २९ जना वेपत्ता भएको, ४२ जना घरेलु हिंसामा परेका छन् ।

मानव बेचविखन तथा ओसारपसार कार्यमा पछिल्लो दिनमा सामाजिक सञ्जालको प्रयोग बढेको माइती नेपालीकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले बताइन् ।

View : 131

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved