Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

रंगेलीमा चट्याङ लागेर महिलाको मृत्यु

उद्‌घोष सम्वाददाता
८ असोज २०८१, मङ्गलवार

विराटनगर । मोरङको रंगेली नगरपालिका–९ धनजुवाकी ४५ वर्षीया साक्रो हेमरनको चट्याङले लागेर मृत्यु भएको छ ।

मंगलबार अपरान्ह करिव साढे १२ बजेतिर धानखेतमा घाँस काट्न गएकी हेमरनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिए ।

खेतमा घाँस काट्दै गरेकी करिव २२ वर्षीया बिनिता हेमरन समेत चट्याङले लागेर घाइते भएकी छन् । उनको कानबाट रगत आएको र हाल रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले बताए ।

घरबाट दुई किलोमिटर पश्चिमतर्फ धान खेतमा घाँस काट्ने क्रममा पानी परेपछि छाता ओढेर घर फर्किने क्रममा छाता माथिबाटै चट्याङ परेको जनाइएको छ ।

‘आजको घटनास्थल हेर्दा पनि यस्तै अवस्था देखिएको छ’ उनले भने, ‘मृतक व्यक्तिले खुला ठाउँमा पानी परिरहेको बेलामा घाँस बोकेर छाता पनि ओढेकोले छाताको डन्ठीबाट जमिनको अर्थिङ प्रवाह भएर चट्याङ लागेको देखिन्छ ।’

प्रहरी निरीक्षक खड्काले वर्षाको समयमा खुला ठाउँमा फलामजन्य वस्तु बोक्दा चट्याङ लाग्ने सम्भावना हुने भएकोले यस सम्बन्धी सचेतना आवश्यक रहेको बताए ।

यी हुन् चट्याङबाट बच्ने केही उपायहरु

  • चट्याङ पर्न लाग्दा फलामे पदार्थभन्दा टाढै बस्नुपर्छ ।
  • सकेसम्म विद्युत उपकरणको प्रयोग गर्नु हुदैँन ।
  • चटयाङ पर्दा खुल्ला ठाउँमा भुइँमा पल्टिएर बस्नु बढी सुरक्षित हुने गर्दछ ।
  • चट्याङ पर्न लाग्दा पानीमा पौडिरहेको भए समतल जमिनमा निस्कनुपर्छ । 
  • मोबाइल वा टेलिफोनको उपयोग नगर्नु नै राम्रो हुन्छ ।
  • बिजुलीको पोल छेउमा बस्नु हुदैँन ।
  • अग्लो रूख, झन्डा बाँध्ने पाइप वा बाँस नजिक जानु हुदैँन ।
  • खुल्ला चौर, खुल्ला संरचना र गाडीमा पनि जानु हुदैँन ।
  • विद्युतको सुचालक वस्तु र उपकरणहरु जस्तैः कम्युटर, टेलिफोनभन्दा टाढा बस्नु पर्दछ ।
  • चट्याङको आवाज आइरहेको बेला तारवाला फोन उपयोग गर्नु हुँदैन ।
  • आकाशमा बादल तीव्रताका साथ गर्जिरहेको भए पक्की भवनमा आश्रय लिनुपर्छ ।
  • वर्षातको समयमा चट्याङ केही समयमात्रै पर्ने भएकोले बाहिर पर्नुभयो भने केही समय पर्खनु पर्दछ ।
  • चट्याङले प्रभावित भएको व्यक्तिलाई तुरन्तै अस्पताल लानु पर्दछ ।
  • चटयाङ प्रभावित व्यक्तिको शरीरमा विद्युतीय झड्का नरहने भएकोले त्यस्ता व्यक्तिलाई छुदाँ कुनै असर पर्दैन ।

View : 252

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved