Biratnagar, Morang, Nepal
३ वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
समाज

थामे हिमताल बिस्फोट पछिको बाढी

घरैमा भेटिए थामेका बेपत्ता व्यक्ति, टोक टोकमा थप तीन घरमा क्षति

उद्‌घोष सम्वाददाता
२ भदौ २०८१, आइतवार

विराटनगर । थामे बाढी आएदेखि बेपत्ता रहेको भनिएका थामे गाउँका ङिमा नुरु शेर्पा आइतबार आफ्नै घरमा भेटिएका छन् । तीन दिनदेखि उनलाई प्रहरी खोजेको खोज्यै हुँदा उनी भने घरमा थुनिएको थुनियै भएको पाइएको छ ।

‘सम्भवतः घरमा उहाँ एक्लै हुनुहुँदोरहेछ’, कोशी प्रदेश प्रहरीका एसएसपी भीम दाहालले भने ‘आइतबार अपरान्ह उहाँ घरैमा भेटिनुभयो ।’

एसएसपी दाहालका अनुसार विस्थापनमा परेका गाउँले र प्रहरीले एकपटक घरैमा खोजी हेरौँ भनेर हेर्दा उनी घरैमा भेटिएका हुन् । 

‘विपदमा सबै ज्यान जोगाउन भाग्दा उहाँ घरैमा बसिरहनु भएको रहेछ’, दाहालले भने ‘घर वरिपरि बाढीले पुरेपछि उहाँलाई निस्कनसमेत असहज भएको हुनसक्छ ।’

एक्लै घरमा तीन दिन बिताउँदा उनी भोकै तिर्खै थिए कि केही बनाएर खाए केही थाहा नभएको प्रहरी भनाइ छ । ५५ वर्षीय शेर्पा बोल्न र सुन्न नसक्ने प्रहरी भनाइ छ । 

शेर्पा घरैमा भेटिएसँगै हिमताल फुटेर आएको भीषण बाढीबाट कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ । आइतबार खुम्बु पासाङल्हामु गाउँपालिकाले आफ्नो फेसबुक पेजमार्फत बेपत्ता शेर्पा सम्पर्कमा आएको जानकारी दिएको छ ।

हिमताल बिष्फोट भएर आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्ने थामे गाउँका विद्यालय सहित १४ घर पूर्ण रुपमा बगाएको छ भने गाउँलाई बगरमा परिणत गरिदिएको छ ।

दिउँसो गाउँ पसेको बाढीले मानवीय क्षति भने गर्न नपाउँदा ठूलो क्षतिबाट जोगिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार वडा नं ३ टोक टोकको तीनवटा घर पनि पहिरोमा परि पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । अरू चार घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।

यसैगरी पहिरोको कारण जोरसल्लेदेखि लार्चा दोभान जाने र ठाडोकोशीदेखि युल्ङिङघाट जाने बाटो पनि क्षतिग्रस्त भएको छ ।

पहिरोले टोक टोक, बेङ्कार, फाक्दिङ, युल्ङिङ, ल्होवा, छेर्मादिङ लगायतका बस्तीहरू पनि उच्च जोखिममा परेको गाउँपालिकाले जनाएको छ ।

View : 232

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved