विराटनगर । जन्मजात बोल्न र सुन्न नसक्ने एक मानिसलाई दुबै हात भाँचिने गरी कुटपिट गरेर लुटपाटमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
घटना विवरण बताउन नसक्ने अपाङ्गता भएका मानिसलाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले घटना भएको सात दिनपछि पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
विराटनगर–११ मा भएको घर बिक्री गरेर १५ वर्षअघि गोर्खामा बसाई सरेका कैशालकुमार गुरुङ आङ्खनो पुरानो थातथलोमा घुम्न आएका थिए ।
राति ११ बजे जनपथ टोलमा उनलाई स्थानीय बफ नामले चिनिने राजकुमार सहनीले पिछा गरे । बास नभएका गुरुङलाई सहनीले यति लामो पिछा गरे कि बिहान पौने ३ बजे बल प्रयोग गरेर लुटपाट गरे ।
घटना गएको कात्तिक ४ गतेको हो । साथमा भएको मोबाइल फोन र रकम लुटपाट भएको थियो । बिहानीपख लुटिएका गुरुङ महेन्द्र चोकमा रहेको प्रहरीलाई गुनासो गर्न पुगे । टाउकोमा रगत बगिरहेका उनलाई प्रहरीले कोशी अस्पताल लगेको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी कसैको सहारा नलिई हिँडेका थिए ।
उनी अस्पतालबाट आफै हिँडेको खबर सार्वजनिक भएपछि प्रहरीमा जानकारी पुग्यो । प्रहरीले उनलाई खोजेर पुनः अस्पताल लैजाँदा दुबै हात पनि भाँचिएको थाहा भएको थियो ।
‘जसको कोही पनि छैन, उसको प्रहरी सहयोगी छ’ मोरङका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले भने ‘आफूमाथि भएको घटना बताउन नसक्ने पीडितलाई लुट्ने ब्यक्ति खोज्न निकै मेहनत गरेका छौं ।’
उनका अनुसार वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश दत्तले लुटपाटमा संलग्न ब्यक्तिको खोजी गरेका थिए ।
दत्तले बजारका सीसीटीभी फुटेज अवलोकन गरेर लामो कपाल पालेका हातमा लाठी बोकेका शंकास्पद ब्यक्ति सोही समयमा हिँडेको देखिएको थियो । ती व्यक्ति सहनी भएको पत्ता लागेपछि आइतबार प्रहरीले विराटनगर बसपार्कबाट उनलाई पक्राउ गरेको थियो ।
लाठी बोकेर हिँडेका सहनी क्यामेराबाट छेलिने बित्तिकै गुरुङको चित्कार सुनिएको छ । बोल्न नसक्ने उनका दुबै हात भाँचेर टाउको फुटाएपछि सहनीले लुटेका थिए । पक्राउ परेपछि सहनीले आफूसँग घरमा बास बस्न जान तयार भएका गुरुङ नमानेपछि कुटपिट गरेको प्रहरीलाई बताएका छन् ।
कुनै पेशा नगर्ने सहनी यस्ता अरु पनि लुटपाटमा संलग्न भएको हुन सक्ने देखेर प्रहरीले अनुसन्धान गर्दैछ ।
विराटनगरमा हुर्किएका गुरुङ पेशाको खोजीमा गएका थिए । आङ्खनो घर ज्ञानबहादुर राईलाई बिक्री गरेर हिँडेका उनी आफ्नो पुरानो थलोको मायाले घुम्दै आएका थिए । हुर्कदै गरेकी छोरी घरनजिकैको पोखरीमा डुबेर मृत्यु भएपछि उनी यो ठाउँ छाडेर त्यसतर्फ लागेको बताइएको छ ।
बोल्न र सुन्न नसक्ने गुरुङ माथि अत्याचार गर्ने सहनीलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरिएको छ ।
View : 195
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved