Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

चिसाङ–बेलडाँगी–कमलपुर सिंचाई जल उपभोक्ता संस्थाको साधारणसभा सम्पन्न

उद्‌घोष सम्वाददाता
२८ भदौ २०८१, शुक्रवार

लेटाङ । मोरङको लेटाङ नगरपालिका–३ स्थित चिसाङ–बेलडाँगी–कमलपुर सिँचाइ जल उपभोक्ता संस्थाको २८ औं वार्षिक साधारण सभा भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ । 

शुक्रबार लेटाङ–३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा आयोजित साधारण सभाको उद्‌घाटन लेटाङ नगरपालिकाका मेयर भुपेन्द्र लावती गरेका हुन् ।

जल उपभोक्ता संस्थाका अध्यक्ष ओम प्रकाश श्रेष्ठको अध्यक्षतामा आयोजित साधारण सभाले संस्थाको आर्थिक बर्ष ०८०/०८१ को प्रगति प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । 

त्यसैगरी आर्थिक वर्ष ०८१-०८२ को भावी कार्यक्रम, अनुमानित आयव्यय, लेखापरीक्षक नियुक्ति, नहर निर्माण योजना र संचालन लगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नगर प्रमुख लावतीले जल उपभोक्ता संस्थाले थालनी गरेर अघि बढाएका योजनाहरूलाई नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले चिसाङ–बेलडाँगी–कमलपुर सिँचाइ जल उपभोक्ता संस्थाले आगामी दिनमा अझ राम्रो काम गर्नै अघि बढ्नुपर्ने सुझाव दिए ।

साधारण सभाको अवसरमा संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै सहयोगी टोली प्रमुख चक्र प्रसाद आचार्य, उत्कृष्ट उपभोक्ता मन्जु श्रेष्ठ र रुद्र बहादुर निरौलालाई नगदसहित मायाको चिनो दिएर सम्मान गरेको जनाइएको छ ।

कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष डम्बरबहादुर राई, सिँचाइ डिभिजन कार्यालय प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, जल उपभोक्ता संजालका अध्यक्ष रुद्र श्रेष्ठ, जनविकास नहरका अध्यक्ष छत्र बहादुर निरौला लगायतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।

संस्थाकी उपाध्यक्ष सुभद्रा भट्टराईले आमन्त्रित र सहभागी उपभोक्ताहरूलाई स्वागत गरेकी थिइन् । कार्यक्रम आयोजनाका लागि जल उपभोक्ता संस्थाको तर्फबाट गोपाल श्रेष्ठले व्यवस्थापन र संयोजन गरेको जनाइएको छ ।

कार्यक्रमको संचालन जल उपभोक्ता संस्थाका सचिव कुमार भण्डारीले गरेका थिए । लेखा समितिको प्रतिवेदन संयोजक राजकुमार उदासले सुनाएका थिए ।

साधारण सभामा एक सय ६७ जना सदस्यहरूको उपस्थिति रहेको जनाइएको छ । 

View : 311

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved