Biratnagar, Morang, Nepal
२६ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

सीमामा तस्करीको खाद्यान्न, एकै नाममा दुई थरीका चामल

चोरी तस्करीबाट २६ किलोको बोरा आउँछ, आम्दानी हुनु अगावै सरकारलाई आम्दानी कर तिरेको २५ किलोको बोरा हो । कुरा सामान्य लाग्छ तर यो गम्भीर विषय हो । कुनै बेला भारतलाई चामल निर्यात गर्ने नेपाल अहिले त्यहाँको उत्पादनमा निर्भर हुन बाध्य छ ।
उद्‌घोष सम्वाददाता
१८ साउन २०८१, शुक्रवार

विराटनगर । हिजोआज विराटनगरको बजारमा अत्यधिक देखिने चामलको नाम हो ‘धनलक्ष्मी’ र ‘गणेशलक्ष्मी’ । यो चामलको बोरामा कुनैमा २५ र कुनैमा २६ किलो वजन लेखिएको छ । फरक वजन भएका दुई खाले बोरा नेपाल र भारतका हुन् । २६ किलोको बोरा सबै भन्सार छली गरेर नेपाल ल्याइन्छ । 

यो एउटा ब्राण्ड नेपाल र भारत दुबै तर्फको भए पनि अन्य धेरै नामका चामल तस्करी गरेर सीमावर्ति भारतीय बजारबाट नेपालमा ल्याइन्छ । जोगवनी बजार गएर विराटनगर आउने आधासरो मानिसका साइकल र मोटरसाइकलको पछाडि चामलका बोरा हुन्छन् । ब्यावसायिक प्रयोजन र घरको प्रयोगका लागि चामल बोक्ने दुई थरी मानिस छन् ।

ब्यवसायका लागि चामल ल्याउनेलाई प्रहरीले परैबाट चिन्ने भएकाले सीमामा प्रतिबोरा ५० रुपैंयाँ सुरक्षाकर्मीले लिने गरेको ब्यवसायीको भनाइ छ । घरको प्रयोगका लागि ल्याउने उपभोक्ताले बोरा खोलेर मात्रै ल्याउन पाउँछन् । नखोलेको बोरालाई सुरक्षाकर्मीले रोक लगाउँछ । ‘५० रुपैंयाँ नतिर्नेलाई बोरा खोलेर ल्याउन लगाइन्छ’ सीमावर्ति विराटनगरका एक उपभोक्ताले भने ।

२६ किलोको चामलको बोरामा जात अनुसार नेपाल र भारतमा ३ सयदेखि ८ सय रुपैंयाँसम्म मूल्यमा फरक भएकाले उपभाक्ता पनि चामल लिन भारतीय बजार जाने गरेका छन् । नेपालमा ५ का दरले गुणा हुने गरी मात्रै चामलका बोराको प्याकेजिङ गर्न पाइने कानुनी प्रावधान छ । तर, भारतमा २५ किलोसम्मको बोरामा बढी कर लाग्न भएकाले २६ किलो तौलको बोरामा चामल हालिन्छ ।

नेपालको कानुनमा २५ किलो हुनु पर्नेमा २६ किलो तौलको चामल बिक्री भई रहेपनि सम्बन्धित निकायले बजार अनुगमन र कारवाही गर्न सकेको छैन । भान्साका लागि अति आवश्यक चामल र दाल दुबैमा खुल्ला सीमानाका कारण नेपाली ब्यवसायीले समस्या भोग्दै आएका छन् । चामल भारतबाट र दाल तेस्रो मुलुकहरुबाट नेपालले आयात गर्छ । 

धनलक्ष्मी र गणेशलक्ष्मी चामल उत्पादन गर्दै आएको सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योग विराटनगरका सञ्चालक राजेशकुमार अग्रवाल नेपाल सरकारलाई कर तिरेर गरिएको ब्यापारमा भारतमा त्यही नाममा भएको उत्पादनले गम्भीर असर परेको बताउँछन् । उनले एकै नामको ब्राण्डमा दुई थरी वजन र मूल्य भएकाले पनि उपभोक्ताले चोरीको र वैध कुन हो भनेर छुट्याउन नसकेको हुन सक्ने बताए ।

‘चोरी तस्करीबाट २६ किलोको बोरा आउँछ, नेपाल सरकारलाई आम्दानी हुनु अगावै आम्दानी कर तिरेको २५ किलोको बोरा हो’ अग्रवालले भने । अग्रवालको कुरा सुन्दा सामान्य लाग्छ तर, यो गम्भीर विषय हो । कुनै बेला भारतलाई चामल निर्यात गर्ने नेपाल अहिले त्यहाँको उत्पादनमा निर्भर हुन बाध्य छ । दालमा पनि आत्मनिर्भर रहँदै आएको नेपाल अहिले तेस्रो मुलुकबाट आयात गर्छ ।

धान चामल ब्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य श्रवण अग्रवालका अनुसार भारतलाई २० प्रतिशत र नेपाललाई ५ प्रतिशत कर बुझाएर ल्याइने चामलमा नेपालमा थप साढे दुई प्रतिशत अग्रिम आयकर तिरेर आयत गरिन्छ । ‘जनशक्ति नभएर नेपालका खेत बाँझो छ, युवा विदेशमा कृषि उत्पादनमै काम गर्न जान्छन्’ अग्रवालले भने ।

नेपालमा चामल भारतबाट आयात हुन्छ भनें दाल भारतसहित तेस्रो मुलुकबाट आयात हुने गरेको छ । ब्यवसायीले दाल आयातमा ठूलो लगानी गरेर नेपाली उपभोक्ताको भान्साको आवश्यक्ता पूरा गर्दै आएका छन् । दाल आयातमा नेपाल सरकारले थप १० प्रतिशत कर लगाएको छ । अस्ट्रेलिया, बर्मा, दक्षिण अफ्रिका, क्यानाडालगायतका देशबाट दाल नेपालमा आयात हुने गर्छ ।

ठूलो जोखिममा लगानी गरेका ब्यवसायीलाई भारतबाट चोरबाटो हुँदै आउने दाल र चालमले पनि गम्भीर असर पारेको छ । नेपालीका हरेक भान्सामा पाक्ने ‘भारतबाट कर नतिरी ल्याइने’ दाल र चालमको मूल्य जोड्ने हो भनें देशलाई ठूलै आवश्यक्ता पूरा गर्ने कर संकलन हुन सक्थ्यो । सीमावर्ति बजारमा आश्रित हुन नेपालीलाई छुट दिने सरकारको अघोषित निजीले देशको समग्रा आयलाई कम्जोर बनाएको उद्योगी ब्यवसायीको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अबिनाश बोहराका अनुसार भारतबाट चोरी पैठारी हुने चामलका कारण नेपालका ६० प्रतिशत उद्योग बन्द सरह  छन् । चलेका उद्योग पनि तस्करीकै कारण घाटा बेहोरिरहेका छन् । उद्योगहरु क्षमता अनुसार चल्न पाए युवाले रोजगारी पाउने र सरकारले पनि सोही अनुसार कर लिन पाउने अवस्था आउँछ ।

‘४० प्रतिशत चामल उद्योग चलेका छन् भनें बाँकी बन्द सरह छन् । घाटामा भए पनि चलाउनु पर्ने बाध्यता छ’ उनले भने–‘नेपालको उत्पादन लागत बढी छ ।’ भारतले चामलमा बेलाबेलामा कोटा सिस्टम लगाउने भएकाले पनि उद्योग सञ्चालनमा असर परेको उनको भनाइ छ । आयात प्रणालीमा अबैध हुँदै गएकाले देशको राजश्वमा नसोचेको असर परेको जानकारी दिंदै उनले यस्ता विषयमा सरकार निर्मम पनि हुन सक्नुपर्ने सुझाव दिए ।

View : 222

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved