विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.राजेन्द्र अधिकारी नियुक्त भएका छन् ।
झापाको बिर्तामोड नगरपालिका–७ निवासी अधिकारीलाई कोशी प्रदेश मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
अधिकारी मेची बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषयको उपप्राध्यापक हुन् । उनले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्य स्तरबीचको सम्बन्ध विषयमा विद्यावारिधि पुरा गरेका छन् ।
प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को दफा ३ को उपदफा (२) खण्ड (ख) बमोजिम अधिकारीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको जनाइएको छ । आयोगको अध्यक्ष भने मुख्यमन्त्री रहने व्यवस्था छ ।
उपाध्यक्षमा नियुक्त भएका डा. अधिकारीलाई आजै मुख्यमन्त्री हिक्मतकुमार कार्की पद तथा गोपनियताको सपथ गराउने तयारी गरेका छन् । प्रदेशको आर्थिक सम्बृद्धि, सन्तुलित विकासका लागि दूरगामी सोचसहितको विकास नीति तर्जुमाा गर्न, नीति कार्यन्वयनमा सहजीकरण, अनुगमन र मूल्यांकन लगायतका विषयमा आयोगले काम गर्ने कार्यक्षेत्र रहेको छ ।
View : 447
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved