विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले दुग्ध उत्पादन सम्वद्ध किसान तथा व्यवसायीहरुसँग व्यावसायिक सम्बन्ध स्थापना अर्थात बीटुबी कार्यक्रम सम्पन्न गरेको छ । महासंघले कृषि उद्यम केन्द्रको आयोजनामा दुग्ध उत्पादक व्यवसायीहरुसँग विराटनगर–१० तिनटोलियास्थित साम्य इन्टिग्रेटेड कृषि फर्ममा छलफल गरेको हो ।
उक्त छलफलमा तुलागंगा कृषि फर्मका सञ्चालक विष्णुप्रसाद दुलालले दुग्ध उत्पादक कृषकहरूले दूध उत्पादनको उचित मूल्य नपाएको गुनासो गरे । ग्रिनयार्ड कृषि फर्म प्रालिका सञ्चालक विज्ञान बस्नेतले डेरी उद्योगले बजारीकरणको रणनीति बनाए अहिले यस क्षेत्रमा देखिएको समस्या समाधान हुनसक्ने सुझाव दिए ।
छलफलमा सहभागी कोशी गौमाता कृषि फर्मका सञ्चालक मदन ढकाल, ढुंगेल कृषि फर्मका सञ्चालक सरोज ढुंगेलले दुग्धजन्य वस्तुको उत्पादनलाई बजार र बिक्रीको सुनिश्चितता गरिदिन सरकारसँग माग गरे । उनीहरुले सरकारले आयातित धूलो दूधलाई निरुत्साहित गर्नुपर्ने पनि सुझाव दिए ।
साम्य इन्टिग्रेटेड कृषि फर्मका सञ्चालक संजोग शिवाकोटीले कृषि उपजको बजारीकरणमा कृषकको क्षमता विकास गर्नुपर्ने बताए । सूर्योदय मिल्क एण्ड बेभरेजका सञ्चालक गुरुप्रसाद अधिकारीले दुग्धजन्य पदार्थको बिक्रीमै कमी आएकाले डेरी उद्योगहरु अप्ठेरोमा पर्दै गएको बताए ।
उनले डेरी उद्योग संकटबाट गुज्रिरहेको भन्दै सरकारले व्यवसायीहरूको ऋणको ब्याजमा सहुलियत दिनुपर्ने माग गरे ।
गोकुल डेरीका सञ्चालक जीवछ यादव, जीवन विकास डेरीका अरुण राय लगायत दुग्धजन्य उद्योग र व्यवसायका प्रतिनिधिहरु सहभागी रहेको नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिए ।
View : 171
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved