Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

महिला टी–२० सिरिज : नेपालसँग जापान ६७ रनले पराजित, संगीताले लिइन् उत्कृष्ट ५ विकेट

उद्‌घोष सम्वाददाता
२ मंसिर २०८०, शनिवार

विराटनगर, २ मङ्सिर : चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ ।

हङकङ क्रिकेट क्लवको मैदानमा शनिबार विहान सकिएको खेलमा नेपालले एक सय १४ रनको लक्ष्य जापानलाई दिएको थियो ।

जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेटको क्षतिमा ११३ रन जोडेको थियो ।

नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रनको योगदान गरिन् । कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रन बटुलिन् ।

काजल श्रेष्ठले अविजित रहँदै ७ बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन नेपालका लागि जोडिन् ।

बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिएका थिए ।

एक सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् । यस्तै सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन् ।

बलिङतर्फ नेपालकी सङ्गिता राईले ५ विकेट लिइन् । त्यस्तै अश्मिना कर्माचार्यले र पूजा महतोले समान दुई दुई विकेट लिए ।

आजको खेल जितेपनि नेपाल जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेको छ । नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो ।

महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि आजै खेल्दैछन् । नेपालले अब तेस्रो स्थानका लागि आइतबार जापानसित अन्तिम खेल खेल्ने छ ।

View : 170

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved