विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो क्याबिनेटका तीन बिनाविभागीय मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । सरकार गठनको डेढ महिनापछि मुख्यमन्त्री कार्कीले आइतबार मन्त्रीहरुको कार्यविभाजन गरेका हुन् ।
एमाले सरकारबाट बाहिरिएका कारण कार्कीले आफूलाई साथ दिएका आठ सांसदमध्येबाट मन्त्री बनाएका शम्शेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
त्यसैगरी माओवादी केन्द्रका गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।
मुख्यमन्त्री कार्कीको नेतृत्वमा अझै पाँचवटा मन्त्रालय छन् । एमाले बाहिरिएका कारण उनलाई मन्त्रिमण्डल विस्तारमा कुनै असजिलो नभएको अवस्थामा पनि मन्त्रालयहरु खाली राखिएका हुन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्री कार्की आफैं छन् ।
मुख्यमन्त्री कार्कीले मन्त्रीहरुको कार्यविभाजन गर्न नसकेको भन्दै आलोचना भइरहँदा बल्ल तीन मन्त्रीहरुको कार्यविभाजन तोक्न सफल भएका हुन् ।
View : 151
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved