विराटनगर । जेनजी आन्दोलनको क्रममा क्षति बेहोरेको विराटनगर महानगरपालिका वडा नम्बर ३ को कार्यालयलाई एक उपभोक्तावादी संस्थाले २ थान प्रिन्टर मेसिन प्रदान गरेको छ ।
विराटनगर–३ स्थित आदर्श उपभोक्ता संरक्षण समितिले विराटनगर–३ को वडा कार्यालयलाई दुईथान प्रिन्टर मेसिन प्रदान गरेको हो ।
समितिको आदर्शचोकस्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णकुमार सुवेदी र बरिष्ठ उपाध्यक्ष निर्मल पौडेलले वडाध्यक्ष बासुबहादुर बस्नेतलाई ५० हजार मूल्य बराबरको प्रिन्टर मेसिन हस्तान्तरण गरेका हुन् ।
आन्दोलनको क्रममा उपकरणसहित भौतिक संरचनाहरूमा धेरै क्षति बेहोर्नु परेपछि वडा कार्यालयको सेवा प्रवाह प्रभावित भएको देखेर समितिको तर्फबाट यथाशक्य जिन्सी सहयोग उपलब्ध गराइएको बरिष्ठ उपाध्यक्ष पौडेलले बताए । सो अवसरमा वडाध्यक्ष बस्नेतले आन्दोलनको क्रममा भएको तोडफोडका कारण वडाको सेवा अवरूद्ध रहेको बताए ।
अप्रत्यासित घटना भएकाले महानगरपालिकासंग समेत त्यस प्रकारको बजेट नभएकाले अन्य शीर्षकबाट रकमान्तर गरेर भएपनि बजेटको जोहो गर्न आग्रह गरिएको उनले बताए ।
विराटनगर–३ का वडासचिव हरिप्रसाद गुरागाईले घटनाको क्रममा वडा कार्यालयमा झण्डै १० लाख मूल्य बराबरको क्षति भएको जानकारी दिए ।
आन्दोलनको क्रममा वडा कार्यालयको कम्प्युटर ४ थान, प्रिन्टर ३ थान, भाडामा ल्याइएको प्रोजेक्टर १ थान र खानेपानीको टंकी २ थान तोडफोड भएको बताइएको छ ।
यस्तै आल्मुनियमका झ्याल २१ थान, काठको र आल्मुनियमको समेत गरेर ९ थान ढोका, एसी ६ थानसहित कुर्सी र फर्निचरहरू नष्ट हुनुका साथै वडा कार्यालयमा रहेका मध्ये ८० प्रतिशत अभिलेखसमेत नष्ट भएको सचिव गुरागाईंले जानकारी दिए ।
View : 280
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved