Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

साढे तीन महिनाको प्रयासपछि

पूर्वअध्यक्षहरू टाँसिए वडाको भित्तामा

अध्यक्ष सन्तोष न्यौपानेले २०३५ सालयताका सबै अध्यक्षहरूको फोटो संकलन गरेर आफ्नाे कार्यकक्षमा सजाएका छन् ।
उद्‌घोष सम्वाददाता
२६ पुष २०८१, शुक्रवार

वडाध्यक्षको कार्यकक्षमा सजाएर राखिएका पूर्वअध्यक्षहरूको फोटो । तस्वीर : उद्घोष

विराटनगर । विभिन्न समय वडाको नेतृत्व गरेका पूर्वजनप्रतिनिधिहरूको विवरण खोज्न विराटनगर महानगरपालिका ५ नम्बर वडा कार्यालयलाई साढे तीन महिना लागेको छ । यो वडाले पूर्ववडाध्यक्षहरूको फोटो तथा विवरण संकलन गरेर कार्यकक्षमा सजाउन त्यति समय खर्च गरेको हो ।

अध्यक्ष सन्तोष न्यौपानेले २०३५ सालयताका सबै अध्यक्षहरूको फोटो संकलन गरेर आफ्नाे कार्यकक्षमा सजाएका छन् । पूर्ववडाध्यक्षहरूको नाम, फोटो र विवरण संकलन गर्न साढे तीन महिना लागेको उनले बताए । ‘उहाँहरू यो वडालाई नेतृत्व गरिसक्नुभएका व्यक्तिहरू हुनुहुन्छ, मैले निकै मेहनत गरेर विवरण खोजी गरेको हुँ’ न्यौपानेले भने ‘देशभरमा कुनै पनि वडाले पूर्वअध्यक्षको फोटो यसरी राखेको मैले थाहा पाएको छैन ।’

अध्यक्ष न्यौपानेको कार्यकक्षमा पुग्दा लाइनै पूर्वअध्यक्षहरूको फोटो देखेर आगन्तुकले सकारात्मक प्रतिक्रिया दिने गरेका छन् । उक्त वडाले संकलन गरेको अभिलेखअनुसार, २०३५ देखि २०३७ सालसम्म वडाध्यक्ष भरतराज रेग्मी थिए । २०३७ देखि २०३९ सम्म जनकबहादुर कार्की अध्यक्ष भए । यी दुवै वडाध्यक्षको निधन भइसकेको छ । २०३९ देखि २०४३ सालसम्म भरतबहादुर खड्का अध्यक्ष भए । नेपाली कांग्रेसका क्रियाशील सदस्य ज्येष्ठ नागरिक खड्का अहिले पनि पार्टीका गतिविधिमा सक्रिय छन् ।

२०४३ देखि २०४७ सालसम्म र २०५४ देखि २०६० सालसम्म दुई कार्यकाल १० वर्ष वडाध्यक्ष भएका हालका राप्रपा नेपालका केन्द्रीय नेता केदार कोइराला निकै चर्चित जनप्रतिनिधिका रुपमा रहेका थिए । उनी कुनै समय पत्रकारितामा पनि सक्रिय थिए । २०४९ देखि २०५४ सम्म वडाध्यक्ष भएका बिजलु चौधरीको निधन भइसकेको छ । पञ्चायतकालमा वडा सदस्य भएका उनी २०४६ को परिवर्तनपछि नेपाली कांग्रेसबाट अध्यक्षमा उठेका थिए । 

शाही शासनकालमा नियुक्त भएका उद्धवप्रसाद दाहाल २०६० देखि २०६३ सम्म वडाको अध्यक्षमा वहाल रहे । २०६३ मा दलहरूले बहिस्कार गरेका बेला राजाका सक्रिय शासनमा भएको निर्वाचनमा वडाध्यक्ष जितेका हरि दाहाल छोटो अवधि पदमा बसेका थिए । विद्यार्थी राजनीतिबाट उदाएका मीनकुमार आचार्य २०७४ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए । २०७९ मा निर्वाचित भएका सन्तोष न्यौपाने भने हालका वहालवाला वडाध्यक्ष हुन् । नेविसंघ, तरुण दल हुँदै उनी पार्टीको राजनीतिमा आएका थिए । दुईपटक तरुण दलको नगर सभापति र एकपटक जिल्ला सचिव भएका उनी नेपाली कांग्रेस महानगरको सभापतिमा भने पराजित भए ।

अघिका वडाध्यक्षको तुलनामा पछिल्ला दुई वडाध्यक्षले विकासमा बढी काम गर्ने अवसर पाएका छन् । स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएपछि वडास्तरमा बढेको बजेटका कारण सडक, नाला, भौतिक पूर्वाधारमा उनीहरूले बढी उपलब्धी देखाउन पाएका छन् । पश्चिममा केशलिया खोला भएकाले दुर्गम क्षेत्र बढी रहेको यस वडाका सबै बासिन्दालाई सडकको सुबिधा दिन भने अझै समय लाग्ने वडाध्यक्ष न्यौपाने बताउँछन् ।

View : 48

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved