विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले आफ्नो प्लेअफ यात्रालाई बलियो बनाउने लक्ष्यसहित बिहीबार काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणका चार खेल खेलिसकेको विराटनगर दुई जित र दुई हारसहित अंक तालिकाको दोस्रो स्थानमा छ ।
पछिल्लो खेलमा जनकपुर बोल्ट्सलाई दुई रनले हराएको विराटनगरका लागि बिहीबारको खेल जितको लय कायम राख्ने र शीर्ष चारभित्रको स्थान थप बलियो बनाउने अवसर हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार अपरान्ह हुने खेलमा विराटनगरले काठमाडौं गोर्खाजको सामना गर्नेछ । यसअघि बिहीबार नै लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच पहिलो खेल हुनेछ ।
पहिलो खेलको नतिजाले पनि अंक तालिकाको समीकरणमा प्रभाव पार्नेछ ।
चार खेलबाट चार अंक जोडेको विराटनगर अहिले दोस्रो स्थानमा छ । समान चार अंक भएका कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । विराटनगरको नेट रनरेट यी तीनै टोलीको भन्दा राम्रो छ । विराटनगरको नेट रनरेट प्लस ०.४०८ छ भने कर्णालीको प्लस ०.२९५, जनकपुरको प्लस ०.०९९ र सुदूरपश्चिमको माइनस १.०६४ छ ।
अंक बराबर भए पनि राम्रो नेट रनरेटका कारण विराटनगरले दोस्रो स्थान बनाएको हो । यद्यपि अहिलेकै तालिकाको दोस्रो स्थानले मात्रै प्लेअफ सुनिश्चित गर्दैन ।
लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्ने भएकाले विराटनगरले अझै तीन खेल खेल्न बाँकी छ । बिहीबारको खेलसहित बाँकी खेलमा प्राप्त हुने नतिजाले उसको अन्तिम स्थान निर्धारण गर्नेछ ।
एनपीएलमा लिग चरणपछि अंक तालिकाका शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् । त्यसैले विराटनगरका लागि अहिलेको प्राथमिकता अंक थप्दै शीर्ष चारभित्र आफ्नो स्थान कायम राख्नु हो ।
यसपटक विराटनगरको प्रतियोगिताको सुरुआत सुखद हुन सकेन । पहिलो खेलमा चितवन राइनोजसँग आठ रनले पराजित भएको विराटनगर दोस्रो खेलमा कर्णाली याक्ससँग चार विकेटले हा¥यो । लगातार दुई हारले टोलीको सुरुआती यात्रा दबाबमा परेको थियो ।
तर, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै विराटनगरले पहिलो जित निकाल्यो । त्यसपछि मंगलबार भएको खेलमा जनकपुर बोल्ट्सलाई दुई रनले हराउँदै टोलीले लगातार दोस्रो जित दर्ता गरेको हो ।
विराटनगरको अहिलेसम्मको प्रदर्शनमा लोकेश बम र आन्द्रे रसेलको ब्याटिङ मुख्य आधार बनेको छ ।
प्रतियोगितामा लोकेशले चार खेलबाट १८८ रन बनाएका छन् । उनी जारी एनपीएलका सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा शीर्ष स्थानमा छन् । रसेलले पनि १४१ रन बनाइसकेका छन् ।
जनकपुरविरुद्धको ५२ रन उनको प्रभावशाली प्रदर्शनमध्ये एक हो । विराटनगरका लागि बलिङतर्फ श्रीलंकाली अलराउन्डर एन्जेलो म्याथ्युजले सात विकेट लिएका छन् ।
उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त अग्रस्थानमा छन् । रसेलले जनकपुरविरुद्ध चार विकेट लिएपछि विराटनगरको बलिङ पक्ष पनि थप प्रभावकारी देखिएको छ । कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगरमा घरेलु खेलाडी र विदेशी खेलाडीको संयोजन छ । लोकेशको निरन्तर रन, रसेलको आक्रामक ब्याटिङ र म्याथ्युजको बलिङ विराटनगरका मुख्य शक्ति हुन् ।
बिहीबारको प्रतिद्वन्द्वी काठमाडौं गोर्खाजले दुई खेलबाट दुई अंक जोडेको छ । एक खेल जितेको र एक खेल हारेको काठमाडौं अंक तालिकाको सातौँ स्थानमा छ ।
पछिल्लो खेलमा उसले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो । काठमाडौंबाट अष्ट्रेलियाका स्टार खेलाडी डेविड वार्नर खेल्दैछन् ।
View : 5
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved