सुनसरी । गत आर्थिक बर्ष २०८०/८१मा सुनसरीमा सञ्चालनमा रहेका दुई सय चार उद्योग खारेजीमा परेका छन् । आर्थिक मन्दीका कारण बन्द भएका तथा नियम अनुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला उद्योगहरू खारेजी गरिएको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीमा साना तथा मझौला गरी करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेले जानकारी दिए । आर्थिक मन्दीको असर भन्दै केही उद्योगहरू बन्द तथा खारेजी गरिएको प्रमुख लामिछानेले बताए ।
उद्योगहरू बन्द भएपनि नयाँ खुल्ने क्रम पनि चलिरहेको प्रमुख लामिछानेले बताए । उनका अनुसार गत आर्थिक वर्षमा सुनसरीमा ५ सय ६६ नयाँ उद्योगहरू थपिएका छन् । नयाँ उद्योग थपिदा १८ लाख ८६ हजार राजस्व संकलन भएको छ ।
यस्तै गत आर्थिक वर्षमा सुनसरीका १ सय २४ साना तथा मझौला उद्योगहरूले पूँजी वृद्धि गरेका छन् । ती उद्योग तथा व्यवसायहरूले कूल ४४ करोड ५३ लाख १३ हजार पूँजी वृद्धि गरेका हुन् ।
गत आर्थिक वर्षमा घरेलु कार्यालय सुनसरीले २ करोड १५ लाख १ हजार ८ सय रूपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख हरि लामिछानले जानकारी दिए ।
कार्यालयले उद्योगतर्फ १ करोड १ लाख ७४ हजार २६० यस्तै वाणिज्य तर्फ १ करोड १२ लाख ५७ हजार ५४० र विक्री आयबाट ७० हजार गरी कूल २ करोड १५ लाख १ हजार ८ सय रूपैयाँ राजस्व संकलन भएको लामिछानेले जानकारी दिए ।
सुनसरीमा धेरै उद्योग तथा व्यवसायहरू सञ्चालनमा भए पनि नविकरण गर्नेको संख्या भने कम देखिएको छ । गत आर्थिक वर्ष २०८०।८१ मा एक हजार तीन सय ५२ उद्योगले मात्रै नविकरण गरेका छन् ।
नविकरणबाट कार्यालयले ६७ लाख ८ हजार राजस्व संकलन भएको घरेलु कार्यालय सुनसरीले जनाएको छ । गत आर्थिक वर्षमा २४ उद्योगहरूले ठाउँसारी गरेका छन् भने ६५ उद्योगहरूले नामसारी गरेका छन् ।
View : 122
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved