Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

राष्ट्रिय सभा निर्वाचन

कोशीबाट एमालेका मेचे र पोर्तेल निर्वाचित

उद्‌घोष संवाददाता
११ माघ २०८२, आइतवार

कोशी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित दायाँबाट क्रमश: सोमनाथ पोर्तेल, सुनिल बहादुर थापा र रोशनी मेचे । पोर्तेल र मेचे एमालेबाट निर्वाचित भएका हुन् । थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । तस्वीर सौजन्य : ध्रुव भट्टराई

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट नेकपा एमालेका उम्मेदवारहरू रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । दुवैजना कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

आइतबार सम्पन्न निर्वाचनमा महिला तर्फकी उम्मेदवार मेचेले नेकपाकी नमिता न्यौपानेलाई भारी मतान्तरले पारजित गर्दै निर्वाचित भएकी हुन् । मेचेले ७ हजार १७३ मत प्राप्त गरिन् भने न्यौपानेले २ हजार २६८ मत ल्याइन् ।

दलितबाट नेकपा एमालेका सोमनाथ पोर्तेल निर्वाचित भए । पोर्तेलले नेकपाका खेम सुन्दासलाई पराजित गरेका छन् । पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गरे भने सुन्दासले २ हजार २७ मत पाएका हुन् ।

कांग्रेस–एमाले गठबन्धन हुँदा कोशीमा यसअघि नै अन्य तर्फ सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।

आइतबारको मतदानमा कांग्रेस–एमाले गठबन्धनबाट केही भोट नेकपाका उम्मेदवारलाई समेत गएको पाइएको छ ।

कोशीमा नेपालको प्रदेश सांसदतर्फ १७ भोट रहेको थियो । तर नमिताले २२ जनाको भोट प्राप्त गरिन् । उनले कांग्रेस–एमाले गठबन्धनबाट स्थानीयका तहका प्रमुख उपप्रमुख गरी १७ जना मत समेत आफुतिर तान्न सफल भइन् । कोशीका स्थानीय तहमा नेकपाबाट ३६ मतदाता मात्रै थिए । तर नमिताले ५८ जनाको मत प्राप्त गरेकी हुन् ।

दलित तर्फ पनि कांग्रेस–एमाले गठबन्धनको मत नेकपालाई चुहिएको पाइएको छ । नेकपाका उम्मेदवार सुन्दासले प्रदेश सांसदतर्फ १७ जनाको मात्रै मत पाउनु पर्नेमा थप एक जना गरी १८ जना र स्थानीय तहतर्फ ३६ जनाको मत पाउनु पर्नेमा ५७ जनाको मत प्राप्त गरेको जनाइएको छ ।
यसले गठबन्धनभित्र गडबडी भएको देखिएको छ । 

कोशी प्रदेशबाट राष्ट्रियसभाका ३ सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमालेले ७ वटै प्रदेशमा गठबन्धन गरेको थियो ।

राष्ट्रिय सभामा कोशीबाट ३ जना सदस्यको निर्वाचन भएको हो ।

View : 265

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved