विकास मानव जातिको अविभाज्य पाटो हो । जहाँ मानव हुन्छ, त्यहाँ विकास र विनाश दुवैको सम्भावना रहन्छ । मानव सभ्यताको उदयसँगै विकासका चरणहरू पनि विकसित भएका छन्, जसले मानव जातिको हरेक सूचकलाई उन्नत बनाउन मद्दत गर्छ । विकासको बलियो जग बसाल्न राजनीतिले लक्ष्य निर्धारण गर्दछ, र सबै दलका राजनीतिक दस्तावेजहरू विकाससँग गहिरो रूपमा जोडिएका हुन्छन् । समग्र विकास र आम नागरिक नै राजनीतिका मूल तत्व हुन् ।
तर, राजनीतिमा विनाशको सम्भावना पनि झुण्डिरहेको हुन्छ, जहाँ एउटा सानो त्रुटिले विकराल रूप लिन सक्छ र विनाशको बाटोतर्फ धकेल्ने जोखिम बढाउँछ । त्यसैले, राजनीतिक विकास र विनाशलाई सन्तुलनमा राख्नु अपरिहार्य हुन्छ ।
लोकतान्त्रिक गणतन्त्रमा देखिएका चुनौती
नेपालको लोकतान्त्रिक गणतन्त्र यतिबेला विषम परिस्थितिमा छ । राजनीतिका नाममा अराजकतावादीहरूको उदय हुँदा नागरिकहरूमा निराशा छाएको छ र उनीहरूको आत्मसम्मान खस्किँदै गएको छ । राजनीति नागरिकमुखी हुन सकेको छैन, बरु यो डनवाद, धनवाद, नातावाद, चाकडीवाद र हिंसावादतर्फ उन्मुख छ ।
यिनै तत्वहरूले राजनीतिलाई दूषित बनाएका छन् र राजनीतिमा इमान र नैतिकताको खडेरी परेको छ, जुन राजनीतिक दलहरूमा प्रस्ट देखिन्छ । राजनीतिलाई पेसा बनाइएको छ, जबकि यो नितान्त सेवामुखी हुनुपर्छ ।
तसर्थ, दलका नेतृत्वहरू उद्यमशील हुन त्यत्तिकै जरुरी छ । यसले भ्रष्टाचारजन्य गतिविधिहरूलाई स्वतः न्यूनीकरण गर्न मद्दत पु¥याउँछ । उद्यमशीलता विकासका लागि सबै राजनीतिक दलका नेतृत्व जोडिनु अपरिहार्य छ । दलगत स्वार्थभन्दा माथि उठेर जनस्तर उकास्ने खालका नीति र नेतृत्वको खाँचो छ । दलीय नीति र नेतृत्वमा पर्यटन र उत्पादनले नै देशलाई उदार बनाउन मद्दत पुर्याउन सक्छ ।
पर्यटन विकासका आधार र सम्भावना
हामी तराई, पहाड र हिमालको विविध भौगोलिक संरचनामा छौं, जहाँ प्रकृतिले अतुलनीय सुन्दरता प्रदान गरेको छ । हाम्रो संस्कार र संस्कृति प्रकृतिसँग जोडिएको छ । भौगोलिक रूपमा ठाउँ अनुसारको मौसमको विविधता पाइन्छ, जहाँ केही घण्टाको अन्तरालमा नै फरक–फरक मौसमको अनुभव गर्न सकिन्छ । यो प्राकृतिक सौन्दर्यताले शरीरलाई आनन्दित बनाई स्वस्थ र स्वच्छ राख्न मद्दत गर्छ ।
बयान गर्न नसकिने नदीनाला, वनजङ्गल, पहाड र हिमालले विदेशीहरूलाई आकर्षण गर्न सक्छन् । यिनै प्राकृतिक सम्पदाहरूको सदुपयोग हुन सकेको छैन र कसैले खासै चासो दिएको देखिदैन । राज्यको भूमिका पनि प्रभावकारी छैन ।
नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण पुरातात्विक सम्पदा, विश्वको सर्वोच्च शिखर सगरमाथा, संग्र्रहालय, पुराना राजदरबार, दैविक मठमन्दिर, बौद्ध गुम्बा, धार्मिक स्थल र भग्नावशेषहरूको उद्गमस्थल हो । यी सम्पदाहरू विभिन्न जातजातिको पहिचानसँग जोडिएका छन् । यसरी भौगोलिक र सांंस्कृतिक रूपमा हामी धनी भए पनि पर्यटन भित्र्याउन धेरै सम्भावना हुँदाहुँदै पनि हामी चुकेका छौं । पर्यटनले पूर्वाधार विकास गर्न र स्थानीयलाई रोजगारको अवसर सिर्जना गर्न सक्ने भए तापनि तीनै तहका सरकारको ध्यान यसतर्फ गएको देखिंदैन ।
भारत र चीनजस्ता ठूला जनसंख्या भएका छिमेकी देशहरूसँगको सांस्कृतिक, धार्मिक र राजनीतिक सम्बन्ध प्रगाढ छ । भौगोलिक सौन्दर्यता र प्राकृतिक पर्यावरणका कारण पर्यटक भिœयाउने थुप्रै सम्भावना भए पनि पर्यटकहरूको आगमन सन्तोषजनक छैन । पर्यटन विकासका लागि सरकारी र निजी क्षेत्रको खासै चासो देखिएको छैन । तसर्थ, यदि अहिले पर्यटनको विकास गर्न सकियो भने स्थानीयलाई रोजगारको अवसरसँगै आत्मनिर्भर बन्न मद्दत पुग्छ ।
स्रोतसाधन र उत्पादन ; आत्मनिर्भरताको आधार
नेपालमा जीविकोपार्जनलाई सरल, सहज र पहुंचयोग्य बनाउने खालका ठूला खानीहरू छैनन् । तर, हामीले प्रकृतिबाट प्राप्त जल, जमिन र जङ्गलजस्ता स्रोतसाधनको उपयोग गर्न सक्छौं । कृषिजन्य उपभोग्य वस्तुहरू, काठ र बाँसबाट निर्मित सामग्रीहरू र केही वनस्पतिहरूबाट बन्ने घरेलु सामग्रीहरूलाई स्वदेशी उत्पादनका रूपमा लिन सकिन्छ । यी स्रोतसाधनलाई स्वदेशी उत्पादनमा परिणत गर्न हामी चुकेका छौं ।
पहिले परम्परागत जीवनशैलीमा यिनै स्रोतसाधनको अधिकतम प्रयोग गरिन्थ्यो । स्थानीय सीपकारहरूले यिनै स्रोतसाधनको प्रयोगबाट स्वदेशी सामग्री निर्माण गर्थे, जसले गर्दा स्वदेशी उत्पादनलाई दैनिक जीवनमा सबैले प्रयोग गर्थे । विदेशी उत्पादनका वस्तुहरू कमै प्रयोग गरिन्थ्यो र जीवनयापनमा कठिनाई पनि थिएन । तर अहिले विदेशी उत्पादनमा हाम्रो अत्यधिक निर्भरता बढेको छ र बजारमा विदेशी ब्रान्डहरूको आकर्षण बढ्दो छ, जसले गर्दा पहिलेको स्वदेशी उत्पादनको उपभोग घट्दै गएको छ ।
पर्यटन र उत्पादनले कसरी आत्मनिर्भर बनाउँछ ?
राजनीतिको अवस्था खस्किंदै जाँदा अर्थतन्त्र पनि सन्तोषजनक छैन । दलीय नीति र नेतृत्वमा विचलनका कारण जनमुखी कार्यक्रमहरू सञ्चालन हुन सकेका छैनन्, जुन जनचाहना र भावना विपरीत छन् । नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको छ, आयआर्जनको बाटो बन्द हुँदैछ, र उद्यमीहरूको आर्थिकस्तर घट्दो छ ।
नेपाल पर्यटन तथ्याङ्क (सन् १९६४–२०२४) अनुसार पर्यटकहरूको आगमन खासै घटेको देखिदैन । सन् २०२४) मा नेपालले अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि अनुभव ग¥यो । नेपाल पर्यटन बोर्डका अनुसार, उक्त वर्षमा नेपालमा ११,४७,५६७ विदेशी पर्यटकहरू आएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १३.१ प्रतिशत वृद्धि हो । यो संख्या महामारीपूर्वको स्तरको ९६ प्रतिशत हो, जसले नेपालको पर्यटन उद्योगको दृढ पुनरुत्थानलाई दर्शाउँछ ।
सन् २०२३ मा नेपालमा १०,१४,८८५ पर्यटकहरू आएका थिए, जुन सन् २०२२ को ६,१४,८४८ को तुलनामा उल्लेखनीय वृद्धि हो ।
सन् २०२३ मा १०,१४,८८५पर्यटक भित्रिएका छन्, जसले गर्दा नेपाल विश्वको १४७ औं स्थानमा पर्न गएको हो । माओवादी द्वन्द्वकालमा पनि पर्यटकहरूको आगमनमा असर परे पनि आउने क्रम रोकिएन । बरु पर्यटकको आगमन हुने सम्भावना बढेको छ । पर्यटकीय भौगोलिक स्थलको आयआर्जनको बाटो खुल्दै गएको छ र पर्यटन स्थलहरूमा रोजगारका सम्भावनाहरू बढ्दै गएका छन् । यसले गर्दा स्थानीयको जीवनयापन सहज भएको छ र उनीहरू आत्मनिर्भर हुन गएका छन् ।
उत्पादनबिना कुनै पनि प्रकारको बजारीकरण हुँदैन, जुन मानवको आवश्यकता र विकाससँग जोडिएको हुन्छ । उत्पादन पनि मानव विकासको एक बलियो आधार हो, जसले अर्थतन्त्रलाई मजबुत बनाउँछ । जुन ठाउँमा स्वदेशी वस्तु उत्पादन हुन्छ, त्यस ठाउँमा अवसरका सम्भावनाहरू बढी रहन्छन् । उत्पादनले रोजगार सिर्जना गर्दछ र उद्यमशीलताको विकासमा टेवा पुर्याउँछ । यसबाट प्रायः सबै लाभान्वित हुन्छन् ।
अन्त्यमा, आत्मनिर्भरताको बाटो नै पर्यटन र उत्पादन हो । यसले हरेक नागरिकलाई आर्थिक रूपमा सक्षम र बलियो बनाउन मद्दत गर्दछ । नागरिक आत्मनिर्भर हुनु नै देशको व्यवस्था र अवस्था ठीक रहनु हो । यसले राजनीतिमा सुशासन कायम राख्न सहयोग पुर्याउँछ । जब नागरिक आत्मनिर्भर हुन्छन्, कुनै पनि बाह्य शक्तिले उनीहरूमाथि खेल्न सक्दैन । यसले आत्मनिर्णयको क्षमता बढाउँदै जान्छ र देश तथा नागरिकलाई लाभान्वित बनाउँदै सुनौलो भविष्यको निर्माणमा मद्दत पुर्याउँछ ।
View : 158
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved