Biratnagar, Morang, Nepal
८ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

केही सहकारीका कारण समग्र सहकारी बदनाम : कोइराला

उद्‌घोष सम्वाददाता
८ जेठ २०८२, बिहिवार

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको बताएका छन् ।

सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक माझ चौमासिक अन्तरक्रिया कार्यक्रम तथा नेपाल लेखा मापदण्ड (एनएएस) सम्बन्धी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले मुलुकका अन्य ठाउँमा मात्रै होइन विराटनगरमा पनि धेरै राम्रा सहकारी भएको बताए । सबै सहकारीलाई एउटै डालोमा राखेर हेर्न नहुनेमा  उनले जोड दिए ।

‘सहकारीको मर्म र भावनाअनुसार सञ्चालित थुप्रै सहकारीहरू छन् । उनीहरूले बचतकर्ता र ऋणी दुवैलाई सेवा प्रवाह गरिरहेका छन्,’ कोइरालाले भने, ‘तर केही सहकारीका कारण उनीहरू सबैको बदनाम भइरहेको छ ।’ 

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरभित्रका सहकारीलाई अझै व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

वडा नम्बर १९ का अध्यक्षसमेत रहेका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगरले सहकारीलाई व्यवस्थित र पारदर्शी तथा जवाफदेही बनाउन बेला–बेला अनुगमन गर्ने गरेको बताए । 

अन्तरक्रियापछि आयोजित नेपाल लेखा मापदण्ड (एनएएस) सम्बन्धी प्रशिक्षणसमेत आयोजना गरिएको थियो । प्रशिक्षार्थीहरूलाई सीए सुरज तिम्सिनाले सहजीकरण गरेका थिए । 

सहकारी शाखाकी प्रमुख चाँदनी राईका अनुसार महानगरको क्षेत्राधिकारभित्र १७२ वटा सहकारी सञ्चालनमा रहेका छन् । त्यसमध्ये हालसम्म ६१ वटाको अनुगमन, १२५ वटा सहकारीले नियमित वित्तीय वितरण बुझाएको, ११० वटा सहकारीले शेयर सदस्यहरूको विवरण पठाएको राईले जानकारी दिइन् ।

त्यस्तै ११७ वटा सहकारीले साधारणसभाको प्रतिवेदन बुझाएका छन् । तालिममा महानगरको क्षेत्राधिकारभित्र रहेका १७२ सहकारीका अध्यक्ष र व्यवस्थापकहरूको सहभागिता थियो ।

View : 54

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved