Biratnagar, Morang, Nepal
८ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

बाल यौन दुर्व्यवहारका आरोपी शिक्षक दोषी ठहर, एक वर्ष कैद सजाय फैसला

उद्‌घोष सम्वाददाता
८ जेठ २०८२, बिहिवार

विराटनगर । बाल यौन दुर्व्यवहारको मुद्दामा विराटनगरका एक जना शिक्षकलाई मोरङ जिल्ला अदालतले दोषी ठहर्‍याएको छ ।

विराटनगर–२ सोमबारेस्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक ओजेश भगतलाई बुधबार अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र क्षतिपूर्ति गराउने आदेश दिएको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले शिक्षक भगतलाई बाल यौन दुव्र्यवहारको मुद्दामा दोषी ठहर गरेको हो । 

‘आरोपित शिक्षक भगत दोषी ठहर भएका छन्’, अदालतका श्रेस्तेदार मणि पोखरेलले भने ‘सोही अनुसार कैद सजाय र जरिवानाको अन्तिम आदेश आएको हो ।’

उनका अनुसार दोषी ठहर भएका भगतले क्षतिपूर्ति वापत एक लाख रुपैयाँ बुझाउनुपर्ने छ ।

विराटनगर–२ का ५८ वर्षीय शिक्षक भगत अबको दुई वर्षपछि अनिवार्य अवकाशमा जान लागेका शिक्षक हुन् । 

प्राथमिक तहका शिक्षक भगतले आफ्नै विद्यालयमा अध्ययनरत नाबालिकालाई यौनजन्य दुव्र्यवहार गर्ने गरेको आरोपसहित उजुरी आएपछि प्रहरीले गएको फागुनमा पक्राउ गरेको थियो ।

गएको चैत १५ मा मोरङ जिल्ला अदालतमा उनीविरुद्ध बाल यौन दुव्र्यवहार मुद्दा दायर भएको थियो ।

त्यसपछि चैत १७ मा भएको सुनुवाईका क्रममा शिक्षक भगत धरौटीमा छुटेका थिए । 

प्रारम्भिक सुनुवाइका क्रममा धरौटीमा छुटेका उनलाई अदालतले अन्तिम आदेशमा भने दोषी ठहर गरेको हो । बैशाख ३० मा जिल्ला अदालतले उनीमाथिको कसुर ठहर गरेको थियो । बुधबार भने उनीमाथि सजाय तोकिएको हो । 

जिल्ला अदालतबाट दोषी ठहर भएका भगतसँग माथिल्लो अदालत जाने बाटो भने खुला नै हुनेछ । त्यसैले सो अवधिभरी उनी पक्राउ भने पर्ने छैनन् ।

गएको फागुन तेस्रो साताको एक दिन विद्यालयमा पाँचौं घण्टी चलिरहेका बेला साना कक्षाका विद्यार्थीले स्कुलकै माथिल्ला कक्षाका विद्यार्थीहरुलाई भगतले गर्ने दुर्व्यवहार हारबारे सुनाएका थिए । 

ठूला कक्षाका विद्यार्थीले साना विद्यार्थीबाट यस्तो कुरा सुनेपछि त्यो खबर विद्यालय प्रशासनमा पुर्‍याएका थिए ।

विद्यालय प्रशासनले विद्यार्थीहरुका कुरा सुनेपछि विषय गम्भीर रहेको भन्दै प्रहरी बोलाएको थियो ।

यसरी नाबालिकाहरुमाथि यौनजन्य दुव्र्यवहार गरेको अभियोगमा शिक्षक भगतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्राथमिक तहमा गणित विषय पढाउने उनले कलिला छात्राहरुमाथि दुर्व्यवहार गर्ने गरेको, उनीहरुमाथि अनावश्यक रुपमा कडाइ गर्ने गरेको गुनासो विद्यालयमा थियो ।

View : 91

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved