Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

भाटभटेनीभित्र जले ११ जना, खुलेन मृतकको पहिचान

उद्‌घोष संवाददाता
३० भदौ २०८२, सोमवार

विराटनगर । जेनजेडी समूहको उग्र प्रदर्शनका क्रममा देशभरका भाटभटेनी सुपरमार्केटभित्र ११ जना जलेका छन् । प्रदर्शनका क्रममा धरानस्थित भाटभटेनीमा भएको आगजनीमा ४ जना, काठमाडौंको चुच्चेपाटीमा ६ जना र विराटनगरमा एकजनाको शव भेटिएको हो ।

पछिल्लो पटक विराटनगरस्थित भाटभटेनी सुपरमार्केटभित्र समेत एक जना व्यक्तिको कंकाल भेटिएको जनाइएको छ ।

भाटभटेनीको इलेक्ट्रोनिक्स विभाग रहेको दोस्रो तल्लामा उक्त कंकाल भेटिएको हो । उक्त कंकाल प्रदर्शनकारीको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा आगजनी र लुटपाटका क्रममा विराटनगरको भाटभटेनीभित्र सयौं व्यक्ति प्रवेश गरेका थिए ।

सामान लुटपाटका लागि प्रवेश गरेका व्यक्तिहरू बाहिरबाट आगजनी भएको थाहा नपाएर बाहिर निस्कन ढिलो गर्दा जलेको हुनसक्ने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुडालले भाटभटेनीभित्र एक कंकाल भेटिएको जानकारी दिइन् । उक्त शव महिला हो कि पुरुष हो भन्ने यकिन नभएको जनाइएको छ ।

आगजनीबाट पूर्ण रूपमा जलेको भाटभटेनीभित्र त्यहाँ कार्यरत कर्मचारीहरूले सफाई गर्ने क्रममा शव जलेको अवस्थामा कंकाल भेटिएपछि प्रहरी गएर घटनास्थलमा अनुसन्धान अघि बढाएको र शवको पहिचानका लागि फरेन्सिक जाँचको प्रक्रिया अघि बढाइएको जनाइएको छ । जाँचपछि मृतकको पहिचान खुल्न सक्ने प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीले जलाएको धरान–९ पुतलीलाइनको भाटभटेनी सुपरमार्केटको चौथो तलामा तीन जना र दोस्रो तलामा एकजनाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

भेटिएका सबै शव प्रदर्शनकारीकै हुनसक्ने जनाइएको छ । हालसम्म भेटिएका ११ वटै शवको पहिचान भने खुल्न नसकेको जनाइएको छ ।

View : 500

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved