Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी सरकारमा जाने कांग्रेसको साइत सरेको सर्‍यै

कोशी सरकारमा सहभागी हुने मन्त्रीहरू छान्नका लागि केन्द्रीय नेताहरूलाई बल्ल पालो आएको उनले बताएका छन् । दलका नेता थापाले यसो भन्दा उपनेता हिमाल कार्कीले भने यो ढिलाइप्रति असन्तुष्टि जनाएका छन् ।
उद्घोष सम्वाददाता
२१ साउन २०८१, सोमवार

विराटनगर । आफ्ना लागि सत्ताको कुर्सी खाली भएको १० दिन बितिसक्दा पनि नेपाली कांग्रेसले कोशी सरकारमा जाने साइत जुराउन सकेको छैन । सरकारमा जान भइरहेको ढिलाइप्रति दलभित्रै आलोचना सुरु भइसक्दा समेत कांग्रेस संसदीय दलका नेता उद्धव थापा भने अझै एक साता समय लाग्न सक्ने र आफ्नो हातमा केही नभएको जवाफ दिन थालेका छन् ।

कोशी सरकारमा सहभागी हुने मन्त्रीहरू छान्नका लागि केन्द्रीय नेताहरूलाई बल्ल पालो आएको उनले बताएका छन् । दलका नेता थापाले यसो भन्दा उपनेता हिमाल कार्कीले भने यो ढिलाइप्रति असन्तुष्टि जनाएका छन् ।

थापाले प्रदेशमा सरकारमा जान कुनै पनि समस्या नभएको र निर्णय गर्नलाई पनि कठिनाइ नभएको बताए । तर नेतृत्वहरूका बीचमा कोशीभन्दा महत्वपूर्ण बागमती, गण्डकी र सुदुरपश्चिम सरकार रहेका कारण कोशी प्रदेशको सरकारमा कांग्रेस जान ढिलाइ भएको बताए । यसरी ढिलाइ हुने विषयले कांग्रेसलाई नै नकारात्मक असर पर्ने उपनेता कार्कीको बुझाइ छ ।

‘यति लामो समयसम्म सरकारमा नजानु पार्टीको लागि राम्रो सन्देश होइन, सरकारमा जान भइरहेको ढिलाइ राम्रो होइन’ उपनेता कार्कीले भने, ‘यसले हामी कसैलाई पनि राम्रो गर्दैन, सत्ता सहकार्यमा रहेको अर्को दलले समेत अविश्वास गर्न सक्ने अवस्था बन्छ, जुन कुरा हाम्रो लागि ठिक होइन ।’

सरकारमा जान ढिलाइ भइरहेको स्वीकार गर्दै थापाले भने अझै हप्ता–दश दिन समय लाग्न सक्ने बताए । त्यो समय धेरै लामो नभएको उनको भनाइ थियो । त्यसपछि सरकारमा जाने उनले जानकारी दिए ।

उनले मन्त्रीका लागि दलभित्र आकांक्षीहरूको संख्या धेरै हुनु स्वभाविक भएको बताए । माननीय भएपछि मन्त्री हुनका लागि बल गर्नु स्वभाविक भएको उनको भनाइ थियो । कोशी सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा पठाउने भन्ने विषयले पार्टीभित्र छलफलमा प्रवेश नै नपाएको उनले बताए ।

‘मन्त्री कसलाई बनाउने भन्ने कुरा पार्टीका नेताहरू बसेर निर्णय गर्ने हो’ उनले भने । मन्त्री पठाउँदा वैज्ञानिक पद्दति विकास गरेर पठाउने र सबैको आलोपालोमा सबैको नेतृत्व पुग्ने गरी पठाउने गृहकार्य भइरहेको उनले बताए । 

‘कसको नेतृत्वमा जाने भन्ने अहिले निर्णय भएको छैन, कोशीको त विषय नै प्रवेश भएको छैन, कहाँबाट कसको नेतृत्वमा जान्ने भन्ने कुरा अहिले छलफलै भएको छैन’ थापाले भने, ‘सायद मलाई लाग्छ अब भोलि–पर्सीबाट विषय प्रवेश गर्छ कि ?’

View : 142

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved