Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

वर्तमान सरकार भ्रष्टहरुको अखडा हो, परिवर्तन गर्नुपर्छ : डा.शेखर

उद्घोष सम्वाददाता
५ पुष २०८०, बिहिवार

सुनसरी, ५ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार भ्रष्टहरुको अखडा भएको आरोप लगाएका छन् । उनले भ्रष्ट सरकारलाई परिवर्तन गर्नुपर्ने बताएका हुन् । 

कोइरालाले सुनसरीको इनरुवामा बिहीबार नेता कार्यकर्ताहरुसँगको भेटघाटमा समेत वर्तमान सरकारको चर्को आलोचना गरेका थिए । नेपाली कांग्रेस सुनसरीले बिहीबार इनरूवामा आयोजना गरेको कार्यकर्ता झेटघाट तथा अन्तरक्रिया कार्यत्रममा बोल्दै कोइरालाले वर्तमान सरकारले जनताको पक्षमा राम्रो काम गर्न नसकेको आरोप लगाए । त्यसैको परिणाम् अहिले नागरिक तहमै गणतन्त्र र संसदीय ब्यवस्थाप्रति बितृष्णा फैलिएको कोइरालाले बताए ।

सरकारका मन्त्रीहरुले नै सहिष्णुता भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिदै हिड्न थालेको भन्दै मन्त्रीहरुलाई समेत नियन्त्रणमा राख्न प्रधानमन्त्री दाहाल असफल भएको आरोप लगाए । 

‘नेतृत्व कमजोर भइसकेकाले जनताको निरासा र आक्रोशले गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता र संघीयतामाथि प्रहार भइरहेको हो’ उनले भने, ‘त्यसमा पनि मन्त्रीहरूको अराजकताले यी सवै भइरहेको छ ।’

देशमा सुशासन दिन नसक्ने, भ्रष्टाचार र दण्डहिनता रोक्न नसक्ने सरकार भएपछि सर्वसाधारण निरास भएको उनले दाबी गरे । सरकारमा सहभागी दलका मन्त्रीहरुकै अराजकताले सीमा नाघेको भन्दै कोइरालाले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई बिदा गरेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न ढिलाई गर्न नहुने बताए ।

नेता कोइरालाले अहिले कांग्रेस अप्ठेरो अवस्थाबाट गुज्रिएकोले कांग्रेसमाथि चौतर्फी प्रहार भइरहेको बताए । देश र कांग्रेसलाई कमजोर बनाउन देशीविदेशी शक्तिहरू नै लागेकोले महासमिति बैठक र महाधिवेशन समयमै हुनुपर्ने माग गरे । 
उनले बैंकहरूले किसानलाई ऋण नदिने तर उद्योगीलाई आदरपूर्वक दिने गरेकाले किसानको अवस्था वेहाल भएको झन्दै चिन्ता व्यक्त गरे । 

कार्यत्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लोकतन्त्र र कांग्रेसमा परिवारको नभई गाउँबासीका कुरा सुन्ने र कार्यकर्ताको नेतृत्व गर्नेलाई नेता मान्नुपर्ने बताए । उनले अब अस्पतालमा कसैले छोराछोरीको उपचारका लागि ऋण खोज्न जानु नपर्ने पनि घोषणा गरे । सरकारले त्यसका लागि १० वर्ष मुनिका प्रदेशभरिका बालबालिकाको निःशुल्क उपचारको व्यवस्था बजेटमा गरेको जानकारी दिए ।

View : 169

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved