सुनसरी । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका इटहरीका मोहन सरदारको परिवारले राज्यको तर्फबाट कुनै पनि सहयोग नपाएको गुनासो गरेका छन् ।
भाइको मृत्यु भएको दुई साता बित्न लाग्दा समेत राज्यको तर्फबाट कुनै सहयोग नपाएको मृतकका दाजु गवनलाल सरदारले बताए ।
उनले भने– भाइ बितेको दुईसाता भयो, अहिलेसम्म सरकारी पक्षबाट आर्थिक सहयोग पाउनु त परकै कुरा भयो त्यसमाथि परिवारमा पीडा भएको बेला राज्यका कुनै निकाय अहिलेसम्म शान्त्वना दिनसमेत आएनन् ।
परिवारको आर्थिक अवस्था सुधार गर्न संघर्ष गरिरहेका ४० बर्षीय सरदारको भदौ २३ गते जेनजी आन्दोलनले रणमैदान बनेको इटहरीमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
इटहरी–१४ मा पर्ने सुकुम्बासी बस्तीका सरदार ज्याला मजदुरी गरेर जिबिका निर्वाह गर्ने गर्दथे ।
मृत्यु भएको ४ दिनपछि मात्र पहिचान खुलेको सरदारको गत भदौ २९ गते अन्त्येष्टि गरिएको थियो । त्यसअघि सरदारसहित जेनजी आन्दोलनमा ज्यान गुमाएका सबै जनालाई सरकारले शहीद घोषणा गर्दै जनही १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।
एक लाख रुपैयाँ तत्कालका लागि किरिया खर्च उपलब्ध गराउने घोषणा गरेको सरकारले काजक्रिया सकिन लाग्दा समेत नपाएको मृतककी श्रीमती मञ्जु सरदारले गुनासो गरिन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले प्रदेश र केन्द्र सरकारले उपलब्ध गराउने भनेको राहत रकम अहिलेसम्म नआएकाले पीडित परिवारलाई हस्तान्तरण गर्न नपाएको बताए ।
सरकारी सहयोग नपाए पनि बिपन्न सरदार परिवारलाई बिभिन्न ब्यत्तिगत सहयोग उठ्ने क्रम बढेको छ ।
दुई छोरीका बाबु सरदारको मृत्यु भएपछि केही राहत होस् भनेर अमेरिकाको कोलोराडोमा बस्दै आएका झापा शिवसताक्षीका नारायण अधिकारी र उनकी श्रीमती सिर्जना अधिकारीले नगद १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
उक्त सहयोग रकम मृतककी श्रीमती मञ्जुलाई अधिकारीका दाइ गंगाबहादुर अधिकारीले सोमबार घरमै पुगेर हस्तान्तरण गरेका छन् ।
View : 325
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved