अन्यौलमा प्रदेश सभा
विराटनगर । कोशी प्रदेश सभाको बैठक नबस्दा प्रदेश सभाको हैसियत र औचित्यमाथि सत्ताधारी दलभित्रबाटै प्रश्न उठ्न थालेको छ । दलहरू सत्ता राजनीतिमा बढि केन्द्रीय हुँदा झण्डै दुई महिनायता प्रदेश सभाको बैठक बस्न नसकेर अन्योल बढ्दै गएको छ ।
सरकारबाट फिर्ता भएपनि समर्थन जारी राखेको माओवादी केन्द्रले तत्कालै प्रदेश सभाको बैठक आह्वान गर्न माग गरे लगत्तै नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले पनि तत्कालै बैठकको माग गरेका छन् । उनले सभामुख अम्बर बहादुर बिष्टले यसै साताभित्रै बैठक बोलाउनु पर्ने भन्दै दवाव दिएका हुन् ।
सरकारको परामर्श गरेर सभामुख बिष्टले बैठक बोलाउन सक्ने भन्दै भण्डारीले प्रदेश सभा बैठकको माग गरेका हुन् । उनले दुई महिनादेखि प्रदेश सभाको बैठक नबस्दा प्रदेश सभामा दर्ता भएका विधेयकहरू अलपत्र परेको बताए । सभामुख बिष्टले यही हप्ताभित्र बैठक बोलाउनुपर्ने उनले धारणा राखेका छन् ।
‘अब सरकार र सम्बन्धित दलहरूसँग परामर्श गरी यो हप्ताभित्र बैठक बोलाउनु पर्छ’ उनले भने, ‘सभामुखले यो हप्ताभित्रै बैठक बोलाउनु पर्छ, म सभामुखसँग बैठक बोलाउन जोडदार माग गर्दछु ।’
प्रमुख सचेतक भण्डारीले सरकारको पूर्णताको विषयलाई देखाएर प्रदेश सभालाई लामो समय बन्धक बनाउन नहुने बताए । सरकारको पूर्णताको विषय अलग्गै विषय भएको दाबी गरे ।
‘दुई महिनासम्म पनि बैठक नहुँदा प्रदेश सभा नै बेठिक ठाउँमा पुग्ने खतरा भयो’ उनले भने, ‘सभामुखले यही हप्ताभित्र सभाको कार्यसूची अघि बढाउनु पर्छ ।’
कोशी प्रदेश सभाको बैठक पछिल्लो पटक २०८१ असार ८ मा बसेको थियो । उक्त बैठकले कोशी प्रदेशको वार्षिक बजेट पारित गरेको थियो । सभामुख बिष्टले प्रदेश सभाको बैठक अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए ।
बाढी पहिरो लगायतका प्राकृतिक प्रकोप भोग्दै आएको कोशी प्रदेशमा त्यस क्षेत्रका जनप्रतिनिधिहरूले नै आफ्नो क्षेत्रको समस्या सुनाउने थलो बन्धक बनेको छ । प्रदेश सभाको बैठक नहुँदा सांसदहरू भूमिकाविहीन बनेका छन् ।
सरकारलाई समर्थन गरिरहेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले प्रदेश सभाको बैठक बोलाउनु पर्नेमा सरकारको समेत ध्यानाकर्षण गराएका थिए । उनले प्राकृतिक विपत्ति, अत्यावश्यक विधेयक र समसामयिक विषयहरूमा खुला छलफल गर्न तत्काल प्रदेश सभा बैठक सुचारु गर्न आग्रह गरेका थिए ।
View : 286
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved