रंगेली । रंगेली नगरपालिकाअन्तर्गतका २७ वटा सामुदायिक विद्यालयहरूमा कार्यरत तीनै तहका विषयगत शिक्षकहरूलाई पाठ्यक्रम प्रबोधीकरण तथा मूल्याङ्कन तालिम बिहीबार रंगेलीमा सुरु भएको छ । कक्षा ५, ८ र १० का नयाँ पाठ्यपुस्तकको आधारमा शिक्षकहरूलाई पुनर्ताजगी गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
रंगेली नगरपालिका शिक्षा शाखा र संघीय सरकारको पाठ्यक्रम तथा मूल्याङ्कन नयाँ प्रणालीको विकास विषयमा तालिम गरिएको हो । तालिमको उद्घाटन गर्दै रंगेलीका नगर प्रमुख दिलिपकुमार अग्रवालले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगर्न शिक्षकहरूलाई निर्देशन दिए ।
रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र गौतमले बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै समयमै विद्यालयमा उपस्थित भई दैनिक पठनपाठन गर्न शिक्षकहरूलाई आग्रह गरे ।
नगर सामाजिक शिक्षा शाखा अध्यक्ष अवधेश मण्डलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा रंगेली नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चुणामणी रेग्मी, शिक्षक किशोर पोखरेल, हेमा मिश्र, अरविन्द साह लगायतले तालिममा प्राप्त भएको ज्ञान र शीपलाई कक्षा कोठामा लगेर प्रयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
View : 269
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved