विराटनगर । विराटनगर–१०, तिनटोलियास्थित ओडिसी सेकेन्डरी इङ्लिस स्कुलले आफ्नो २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित विशेष समारोहका बीच वार्षिकोत्सव मनाइएको हो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले सञ्चालन गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ । सो प्रतियोगिता अन्तर्गत विद्यार्थीहरूले बुद्धिचाल, हाजिरीजवाफ, बेलुन दौड, हाइजम्प, लङजम्प र लुडो लगायतका विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्दै गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । मनोरञ्जनात्मक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत सो विद्यालयले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिंदै आएको छ ।
विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरी, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, विद्यालयका प्राचार्य भानु भट्टराई र सहायक प्राचार्य निरजकुमार दासले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा शिक्षकहरू योजना राई, नेन्सी आचार्य, बिक्कि मण्डल र स्वेता साहको सक्रिय सहभागिता थियो । कार्यक्रममा विद्यालयका संस्थापकहरू विकास राजवंशी, पवन साह, तुलसीकुमार यादव र नितेशकुमार झा लगायतले कार्यक्रमको गतिविधिलाई गहिरोसँग नजर गरेका थिए ।
अभिभावक तथा अतिथिहरूले विद्यालयले दुई दशकको यात्रामा हासिल गरेको शैक्षिक उपलब्धि र विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुदले पुर्याएको योगदानको प्रशंसा गरे ।
View : 130
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved