Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

बैंक ग्यारेन्टी रकम हिनामिना प्रकरणमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उद्‌घोष संवाददाता
१८ असार २०८३, बिहिवार

Advertisement

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा सञ्चालित पलापु लिफ्ट खानेपानी योजनाको बैंक ग्यारेन्टी रकम हिनामिना भएको प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७–७८ मा वडा नं. १ र २ मा सञ्चालन भएको बृहत् खानेपानी योजनाका लागि २ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको थियो । 

उक्त योजनाको निर्माणका लागि शिरिस कन्स्ट्रक्सनसँग सम्झौता भएको र १८ लाख ५० हजार रुपैयाँको कार्यसम्पादन जमानत (बैंक ग्यारेन्टी) जारी गरिएको थियो ।

अनुसन्धानबाट गाउँपालिकाले ठेक्का रद्द गरी निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेपनि बदनियतपूर्वक सो निर्णय कार्यान्वयन नगरी बैंक ग्यारेन्टीको म्याद सकिएपछि मात्र रकम असुल गर्न पत्राचार गरेको पाइएको आयोगले जनाएको छ  । 

यसका कारण १८ लाख ५० हजार रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा हानि पुगेको निष्कर्ष आयोगले निकालेको छ ।

यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, शिरिस कन्स्ट्रक्सनका सञ्चालक प्रकाश नाछिरिङ राई तथा निर्माण कम्पनीलाई प्रतिवादी बनाइएको छ । 

उनीहरूविरुद्ध १८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुलको मागदाबी गरिएको आयोगले जनाएको छ ।

View : 297

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved