फिक्कल । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन् ।
माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गरेका हुन् ।
आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको अस्पताल सङ्घीय सरकारको सहयोगमा १० करोड ७० लाख २४ हजार खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले बताए ।
साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहितको दुई तलाको अस्पताल निर्माण गरिएको छ ।
नवनिर्मित अस्पताल भवनबाट शनिबारदेखि नै स्वास्थ्य सेवा सुरु भएको छ ।
२४ सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताए ।
अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स-रे, भिडियो एक्स-रे, इसिजी, फार्मेसीलगायत सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।
अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत लागू गरिएको छ ।
नगरपालिकाबासीको आधारभूत स्वास्थ्य उपचार पालिकाभित्र उपलब्ध गराउने र जटिल प्रकारका बिमारीलाई अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भएकाले स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गरिएको नगर प्रमुख लिम्बूले बताए । रासस
View : 501
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved