Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

रेडियो नेपालप्रति सञ्चारमन्त्री शर्मा असन्तुष्ट, 'स्रोत साधन हुँदाहुँदै पछि पर्नुको कारण के हो ?'

उद्‌घोष सम्वाददाता
१३ मंसिर २०८०, बुधवार

काठमाडौं : स्रोत साधन पर्याप्त हुँदाहुँदै पनि रेडियो नेपालले अपेक्षित आर्थिक विकास गर्न नसकेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले असन्तुष्टि जनाएकी छन् । 

सिंहदरबारस्थित रेडियो नेपालको सभासहलमा बुधबार आयोजित 'स्रष्टासँग गीत संगीत र रेडियो नेपाल' विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । स्रष्टा र कर्मचारीलाई बेलामा पारिश्रमिकसमेत उपलब्ध गराउन नसक्ने अवस्था आउनुको कारण खोजी गर्नुपर्ने उनले बताइन । 

सरकारी रेडियो भएकाले रेडियो नेपाल निजी क्षेत्रका रेडियोहरुका तुलनामा सम्पन्न छ । तैपनि आर्थिक रुपले सबल हुन नसक्नुको कारण खोजी गर्न आवश्यक भएको उनले बताइन् । 
उनले भनिन्,'अहिले जति पनि रेडियोहरु छन्, सीमित स्रोत साधनहरुको बीचबाट उनीहरुले गरेको विकास र अत्यन्तै ठूलो स्रोत र साधनका बीचबाट हामीले गर्न नसकेको विकास, यहाँ के अन्तरविरोध हो ? के को अन्तरविरोध हो ? त्यसको खोजी गर्न जरुरी छ ।’

कर्मचारीको तलब दिन पनि हारगुहार गर्नुपर्ने अवस्थामा पुगेको भन्दै अवस्था सुधारका लागि कानुनीरुपमा सहज वातावरण बनाउन मन्त्रालय सधैं तयार रहेको पनि उनले बताइन् । 
उनले भनिन,‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्ने जस्तो हामी भयौं । सम्पत्ति छ तर त्यसलाई प्रयोग गर्न सकेका छैनौ । तलब दिन पनि हारगुहार गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं । यसलाई गहिरो समीक्षा आवश्यक छ । कानुनी रुपमा बाधा छ भने बाटो खोलौं, मन्त्रिपरिषद्बाट गर्नुपर्ने होकी मन्त्रालयबाट गर्नुपर्ने हो हामी यसका लागि तयार छौ ।’

पछिल्लो समय रेडियो नेपालले आफूलाई कसरी समयसापेक्षित गर्ने, कसरी आफूलाई अगाडि बढाउने र जनताको सञ्चार र मनोरञ्जनको साधन हो भनेर कसरी स्थापित गर्ने भन्ने बारेमा सोच्न आवश्यक भएको उनले बताइन् । 

टेलिभिजन, अनलाइन लगायतका विभिन्न प्रकारका सञ्चारमाध्यमहरुको विकास र उद्गमस्थल रेडियो नेपाल नै भएको भन्दै यसैबाट स्रष्टाहरुले आफ्नो विकास गरेको पनि उनको भनाइ थियो । 

View : 150

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved