Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराट मेडिकलमा रगतको अभाव

तत्काल रगत चाहिने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन् । दशैंपछि सबै समूहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इञ्चार्ज प्रवीण दाहालले जानकारी दिए ।
उद्‌घोष संवाददाता
२९ असोज २०८२, बुधवार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा केही दिन यता रगतको अभाव देखिएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरूलाई चाहिने रगतको अभाव देखिएको हो । 

तत्काल रगत चाहिने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन् । दशैंपछि सबै समूहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इञ्चार्ज प्रवीण दाहालले जानकारी दिए । 

सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य अस्पतालहरूमा रगतको अभाव सिर्जना भएको बताइएको छ । 

विराटनगरमा सुविधा सम्पन्न अस्पतालहरू भएका कारण टा–टाढाबाट बिरामीहरू आउने हुँदा रगतको माग पनि उच्च छ । 

माग बढ्दा केन्द्रमा रगतको अभाव सिर्जना हुने गरेको नेपाल रेडक्रस सोसाईटी मोरङले जनाएको छ । 

विराट मेडिकलमा सहज रूपमा उपलब्ध हुने पोजेटिभ समूहको रगतको समेत अभाव भएको ब्लड बैंकका इञ्चार्ज प्रवीण दाहालले जानकारी दिए ।  

रगतको अभाव भएपछि रगत दिइनु पर्ने अवस्थाका बिरामीका आफन्तहरूले बढी हैरानी व्यहोर्नु परेको छ । 

अस्पतालमा चिकित्सकले रगत चढाउनुपर्छ भनेपछि उनीहरू सम्बन्धित समूह रगतको खोजीमा भौंतारिनु पर्ने अवस्था छ भने बिरामीले समयमा रगत नपाउने अवस्था भोग्नु परेको छ । विराट मेडिकलमा दैनिक १०० देखि १२० पिन्ट रगतको माग हुने गरेको छ । तर रक्तदान गर्नेको संख्या भने निकै कम रहेको छ ।

दिनमा १५ देखि २० जनाले मात्रै रक्तदान गर्ने गरेको रक्तसञ्चार सेवा (ब्लड बैंक) का इञ्चार्ज प्रवीण दाहालले बताए । 

उनका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, गर्भवती, सुत्केरी, शल्यक्रिया गर्नुपर्ने बिरामी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने बिरामीहरूलाई असर परेको छ । 

विभिन्न संघ, संस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न, स्वास्थ्य अवस्थामा रहनु भएका सम्पूर्ण महानुभावहरूलाई नजिकैको रक्तसञ्चार केन्द्रमा गई रक्तदान गर्न अनुरोध गर्नुका साथै  सो अस्पतालले एउटा सूचना जारी गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरूले विराट ब्लड बैंकमा गई रक्तदान गर्न अनुरोध गरेको छ ।

नेपालमा रक्त संकलनको कार्य गर्ने जिम्मेवारी पाएको रेडक्रसमा चरम राजनीतिले गर्दा रगतको अभाव हुने गरेको रेडक्रस सरोकार समितिका उपसंयोजक सुरबहादुर श्रेष्ठले बताए ।

View : 290

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved