विराटनगर । जेनजी प्रदर्शनकारीका नाममा राजनीतिक दलसम्वद्ध व्यक्तिहरू घुसपैठमा भदौ २४ मा देशभरका विभिन्न सरकारी कार्यालय र सरकारी सम्पतिमा तोडफोड, आगजनी र लुटपाटका घटना धेरैका आँखामा ताजै छन् ।
दैनिक रुपमा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयदेखि अदालतसम्म प्रदर्शनकारीको निसानामा परे । कतिपय कार्यालयहरूको सम्पूर्ण सरकारी अभिलेख जलेको छ ।
स्थानीय तहका कार्यालयदेखि वडा कार्यालयसम्म आगजनी र तोडफोड भएका छन् । करोडौं मूल्य बराबरका सवारी साधन कामै नलाग्ने गरी जलेका छन् ।
तोडफोड, आगजनी र लुटपाटका कारण सरकारी कार्यालयहरू शून्यमा पुगेको बेला निजी क्षेत्रले आफ्नो क्षति समेत भुलेर सहयोगको प्रयासलाई निरन्तरता दिएका छन् ।
सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीहरूका विभिन्न संस्थाले आफ्नो पहल र प्रयासबाट सहयोग गर्न चुकेका छैनन् ।
आगजनीबाट खरानीमा परिणत भएको जिल्ला प्रशासन कार्यालय मोरङलाई सेवा प्रवाहको अवस्थामा पु¥याउनका लागि विभिन्न संघसंस्थाहरूले गर्दै आएको सहयोगमा मोरङ उद्योग व्यापार संघले महत्वपूर्ण इँटा थपेको छ ।
भएका सवै सवारी साधन आगजनीबाट ध्वस्त भएपछि सवारी साधनविहीन बनेको जिल्ला प्रशासन कार्यालयलाई संघले आइतबार ल्याण्डरोभर गाडी हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष अनुपम राठीसहित पदाधिकारी र सदस्यहरूको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई उक्त गाडीको सा“चो हस्तान्तरण गरिएको हो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङलाई एकथान मोटरसाइकल पनि हस्तान्तरण गरिएको छ ।
संघका अध्यक्ष अनुपम राठीले जेनजी विद्रोहका क्रममा निजी र सरकारी सम्पतिमा आगजनी हुनु निकै दुःखद् भएको बताए । उनले सरकारी सम्पत्तिलाई सवैले आफ्नो सम्पति ठानेर जोगाउनु पर्ने बताए ।
‘जेनजीले एउटा विद्रोह गरेका थिए, तर सोही क्रममा निजी र सरकारी सम्पत्तिमा जलाइयो, सरकारी सम्पत्ति र निजी क्षेत्रमा लक्षित गरेर आगजनी हुनु निकै दुखदायी हो’ उनले भने, ‘संस्थाको तर्फबाट कतिसम्म सहयोग गर्न सकिन्छ भनेर प्रयास गरेका छौं, क्षति पुगेका विभिन्न निकायमा केही इलेक्ट्रोनिक सामान, फर्निचर सामान पनि हस्तान्तरण गरेका छौं, हामीसँग एउटा गाडी थियो, मर्मत सम्भार गरेर सिडियो कार्यालयलाई हस्तान्तरण गरेका छौं, प्रशासनिक काममा सहयोग पुगोस् भनेर सहयोग गरेका हौं, भोलिका दिनमा पनि हाम्रो तर्फबाट हुने साथ सहयोग गर्न प्रयास गर्नेछौं ।’
आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका सरकारी कार्यालयलाई संघसहित निजी क्षेत्रसम्वद्ध दर्जनौं संघसंस्थाले सहयोग गर्दै आएका छन् । सहयोगको क्रम अहिलेपनि जारी छ ।
View : 371
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved