विराटनगर । सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन भन्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई काठमाडौं बोलाए । पार्टीको कोशी प्रदेशका सभापतिसमेत रहेका थापा त्यही दिन काठमाडौ उडे ।
उनी काठमाडौं पुगेर सभापति देउवा निवासको बोलावट कुरेर बसे । तर, मंगलबार दिनभर कुर्दा पनि थापालाई देउवा निवासबाट खबर आएन ।
कांग्रेसका एक केन्द्रीय नेताका अनुसार प्रदेश सभापति थापालाई छलफलका लागि भन्दै बोलाएका देउवाले बोलाउँदै बोलाएनन् । सभापति देउवाले भेटसमेत नदिएपछि नेता थापा मंगलबार मन्त्रीको नाम टुङ्गो नलगाई विराटनगर फर्केका छन् ।
‘हाम्रो सभापति काठमाडौं जानुभएको छ, मन्त्रीको नाम लिएर विराटनगर आउनुहुन्छ’ कोशी कांग्रेसका बहुसंख्यक सांसदहरु मंगलबार बिहानसम्म यसै भन्थे । तर, मंगलबार पूर्व मुख्यमन्त्री थापा कोशीमा पठाउने मन्त्रीको नाम टुङ्गो नलगाई विराटनगर फर्किए ।
‘अझै एक दुईदिन लाग्ने कुरा आयो, सभापतिज्यू नाम नलिइ फर्कनु भो’ कोशी प्रदेश सभाका एक सांसदले भने, ‘सभापतिले हाम्रो दलको नेतालाई छलफलका लागि बोलाए पनि त्यसबारे कुनै छलफल भएन भन्ने बुझेको छु ।’
कोशीका नेता थापाले आफू मन्त्रीहरुको नाम लिएर विराटनगर आउने बताएका थिए । तर, सभापति देउवाले यसबारे कुनै छलफल नगरेपछि नेता थापा नाम नलिइ फर्केका हुन् । सभापतिज्यूका अनुसार अझै केही समय लाग्ने भन्ने बुझियो, कोशीका ती सांसदले भने, ‘कोशीमा मन्त्रीको नाम पठाउन नसकेर लज्जास्पद अवस्था भयो ।’
गण्डकी र कोशीको एकैपटक टुङ्गो लगाउने बताइरहेका कांग्रेस नेताहरुका अनुसार आन्तरिक भागवन्डा नमिलेकै कारण कोशीमा मन्त्री टुंगोमा पुर्याउन सकस भैरहेको छ । मुख्यतः शेखर कोइराला पक्षले कम्तीमा दुई मन्त्रालय मागेका कारण समस्या भएको सस्थापन समूहको भनाइ छ ।
कोशी प्रदेशको प्रदेश सभामा नेपाली कांग्रेस भदौ १४ गते शुक्रबारदेखि सत्तापक्षमा र नेकपा माओवादी केन्द्र विपक्षमा उभिएका थिए । तर, अहिलेसम्म पनि कांग्रेस सरकारमा सहभागी भएको छैन ।
केन्द्रमा कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा रहेका माओवादी मन्त्रीहरुले गएको साउन ११ मा पदबाट राजीनामा दिएका थिए । त्यतिन्जेलसम्म समर्थन भने कायमै राखेको माओवादीले भदौ १४ मा पत्र लेखेर समर्थन फिर्ता लिएको थियो ।
माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ । तर, अब विश्वासको मत दिने दल कांग्रेस भने अझै सरकारमा सहभागी हुन सकेको छैन ।
१३ जना सांसद रहेको माओवादीले समर्थन फिर्ता लिएकै दिन सरकारलाई २९ जना सांसद रहेको कांग्रेसले समर्थन जनाएको हो । एमालेसँग ४० सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ ।
कोशीमा मन्त्री बन्न कांग्रेसभित्र ठूलो दौड छ । सभापति शेरबहादुर देउवा, सस्थापन इतर पक्षका नेता शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षबीच आन्तरिक भागबन्डाको किचलो नमिल्दा मन्त्रीको नाम छान्ने लामो प्रयास सफल हुन सकिरहेको छैन ।
कोशीमा देउवा पक्षबाट अमृत अर्याल, प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिह हाङ्गाम लगायतका सांसद मन्त्री हुने दौडमा छन् ।
शेखर कोइराला पक्षबाट इन्दिरा थापा, गोविन्द गिरी, मानबहादुर लिम्बू, रामकुमार खत्री यो दौडमा सामेल हुँदा सिटौला पक्षबाट भीम पराजुली र भुपेन्द्र राई मन्त्री बन्ने लविङमा छन् ।
View : 197
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved