Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

उपनिर्वाचन २०८१

कोशी प्रदेशमा एक पालिका प्रमुख र सात वडाध्यक्षको उपनिर्वाचन हुँदै

मंसिर १६ मा देशभरका ३४ वटा स्थानीय तहका ३७ वटा रिक्त पदमा उपनिर्वाचन हुँदैछन् । जसमध्ये तीन पालिकाका प्रमुख–अध्यक्ष र तीन पालिकाका उपप्रमुख–उपाध्यक्ष रिक्त छन् ।
उद्घोष सम्वाददाता
२१ कार्तिक २०८१, बुधवार

विराटनगर । कोशी प्रदेशमा एउटा स्थानीय तहको प्रमुख र सातवटा वडामा वडाध्यक्ष चुन्न उपनिर्वाचनको तयारी अघि बढेको छ । २०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिको निधन र राजीनामाका कारण आगामी मंसिर १६ मा निर्वाचन आयोगले ती स्थानीय तहमा उपनिर्वाचनको मिति तय गरिसकेको छ ।

उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरू उम्मेदवार छान्न र उम्मेदवार छानिसकेका दलहरू भने चुनावी अभियानमा सक्रिय बनेका छन् । 

मंसिर १६ मा देशभरका ३४ वटा स्थानीय तहका ३७ वटा रिक्त पदमा उपनिर्वाचन हुँदैछन् । जसमध्ये तीन पालिकाका प्रमुख–अध्यक्ष र तीन पालिकाका उपप्रमुख–उपाध्यक्ष रिक्त छन् ।

पालिका प्रमुख–उपप्रमुख एवं अध्यक्ष–उपाध्यक्षको उपनिर्वाचन सम्पन्न गर्न देशैभर मंसिर २ गते दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् । निर्वाचन हुने स्थानीय तहहरूका लागि कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने निर्वाचन आयोगको तालिका रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तिर्थ अधिकारीले जानकारी दिए ।

उनले पालिका अध्यक्षको निर्वाचन हुने मोरङको ग्रामथानमा १२ वटा मतदान स्थल र २९ वटा मतदान केन्द्र रहने बताए । तर मतदाताको अन्तिम नामावली कात्तिक २६ गतेभित्र प्रकासित हुने जानकारी दिंदै मतदाताको संख्या वृद्धि भएको खण्डमा भने मतदान केन्द्र थपिएर पनि आउन सक्ने जानकारी दिए । 

निर्वाचन कार्यालयले मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतहरूको तालिम सम्पन्न गरेपछि उनीहरूलाई मतदानका लागि आवश्यक सामग्रीको बन्दोबस्त गर्ने पनि अधिकारीले बताए ।

किन हुँदैछ चुनाव ?

नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधनका कारण मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्षको उपनिर्वाचन हुन लागेको हो ।

झापाको कन्काई नगरपालिका–६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापा, तेह्रथुमको लालिगुराँस नगरपालिका–८ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तेजमान लिम्बू, सुनसरीको गढी गाउँपालिका–६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष सदानन्द उराउ झाँगर, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपिकृष्ण कार्की, उदयपुरको त्रियुगा नगरपालिका–१२ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष चुडाराज काफ्ले र बेलका नगरपालिका–९ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पदमबहादुर खड्काको निधन भएकोले त्यहाँ उपनिर्वाचन हुन लागेको कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । 

त्यसैगरी वडाध्यक्ष निर्वाचित भएपछि वैदेशिक रोजगारीका लागि एक वर्षअघि मात्रै हङकङ पलायन भएका वडाध्यक्ष दिलप्रसाद बोखिमले राजीनामा पठाएपछि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा पनि उपनिर्वाचन हुन लागेको जनाइएको छ ।

यस बाहेक जिल्ला समन्वय समिति ओखलढुंगाको रिक्त रहेको प्रमुखका लागि समेत मंसिर १६ मै निर्वाचन हुने कार्यक्रम रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । नेपाली कांग्रेसका समन्वय समितिको प्रमुख निर्वाचित भएका डिल्लीराम खनालको गत वर्ष असोजमा निधन भएको थियो ।

View : 84

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved