विराटनगर । मोरङको सुनबर्षी नगरपालिका–१ गिर्दलियामा सोमबार राती भएको आगलागीका पीडित परिवारलाई कोशी प्रदेश सरकारले राहत सामग्री उपलब्ध गराएको छ ।
मुस्लिम समुदाय रहेको बस्तीमा आगलागी हुँदा सात वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । एउटा घर आंशिक रुपमा क्षति पुगेको जनाइएको छ ।
मंगलबार कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आगलागी भएको स्थलमै पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
उनले प्रदेश सरकारको तर्फबाट सात थान ब्लाङ्केट, सात थान त्रिपाल, चामल, तेल र नुन लगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गरेका छन् ।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी र सुनबर्षी नगरपालिकाले समेत राहत सामग्री उपलब्ध गराएको जनाइएको छ ।
स्थानीय आजाद मियाँको घरमा विद्युत सर्ट हुँदा सोमबार राती १० बजे आगलागी भएको थियो ।
आगलागी फैलिएर आजाद मियाँको घर र त्यहाँ रहेको किराना पसल, छिमेकी अलाहदिन मियाँ, घोता मियाँ, फर्मु मियाँ र असलम मियाँको घर र घरभित्रको लत्ताकपडा तथा खाद्यान्न पूर्णरुपमा जलेको हो ।
पथरीशनिश्चरे, रंगेली, कानेपोखरी, बेलबारीबाट गएको दमकलले आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट केही पशु चौपायासमेत जलेर मरेका छन् ।
View : 320
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved