विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कांग्रेससँगको सम्बन्ध सुमधुर हुने नहुने कुरा भिजिट भिषा प्रकरणमा हुने छानबिनले देखाउने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले भिजिट भिषा प्रकरणको गहिरो छानबिन हुनुपर्ने बताए । छानबिनका लागि सरकार तयार भएकोले पार्टीहरू सहमति गर्ने परम्परा अनुसार नै मुख्य सचेतकहरूले हस्ताक्षर गरेर सहमति गरेको बताए ।
‘कांग्रेससँगको सम्बन्ध सुमधुर हुन्छ कि हुँदैन भोलीका दिनमा यो छानबिन अध्ययन कसरी जान्छ त्यसमा भर पर्ने कुरा हो’ दाहालले भने, ‘हामीले के मात्रै भनेको हो भने, छानबिन हुनुपर्छ यो विषय ।
धेरै गम्भीर छ । अहिलेको गृहमन्त्री मात्रै रिलेटेट होइन, धेरै पहिलेदेखिको अत्यन्त संवेदनशिल रुपमा छ, सुशासनका निम्ति छानविन हुनुपर्यो, अध्ययन गहिरो गरी हुनुपर्यो, संरचना बन्नुपर्यो, यसैका लागि सहमति गरेको हो ।’
दाहालले भिजिट भिषा प्रकरणमा माओवादीले गरेको सहमति र अग्नी सापकोटाको कुनै साइनो सम्बन्ध नभएको जिकिर गरे ।
माओवादी थाङ्नामा सुतेको हो भन्ने एक संचारकर्मीको प्रश्नमा दाहालले भने– ‘यसमा माओवादी सुतेको छैन, विगतमा पनि यसैगरी सहमति गरिएको छ ।’ उनले कार्यकर्ताले नबुझेर सहमतिको विरोध जनाएको टिप्पणी गरे ।
‘बुझेपछि सबै खुसी हुन्छन्, यसमा सत्तासँग सम्बन्धित केही कुरा छैनन्’ दाहालले भने, ‘हामीलाई अहिलेको आवश्यकता अनुसारका ऐनहरू संसदमा अघि बढाउन झन अप्ठेरो हुने भएपछि र छानबिनका लागि सरकार तयार हुन्छ भनेर सहमति गरेको हो ।’
उनले संसदमा गृहमन्त्री रमेश लेखकले धम्कीपूर्ण रुपमा बोलेको विषयको जिम्मा गृहमन्त्रीले नै लिनुपर्ने बताए । ‘वहाँले के के बोल्नु भो त्यसको जिम्मेवार वहाँ नै हो’ दाहालले भने ।
उनले पूर्व राष्ट्रपति र उपराष्टपति राजनीतिमा आउन चाहन्छन् भने आउन पाउने बताए । त्यसका लागि संविधान, कानुन वा कुनै परम्पराले नरोक्ने दाबी गरे ।
जनार्दन शर्मालाई पार्टी छोड भनेको हो भन्ने संचारकर्मीको प्रश्नमा दाहालले भने ‘पार्टी छोड भनेकै छैन त, त्यो बेकार कुरा हो, तपाँईहरूले अत्याउन त्यसो भन्नुभयो ।’
View : 478
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved