विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा पालतो बस्ती छ । बस्ती र खेलखलियानको बीचमा शानदार भवनले सबैको ध्यान तान्छ ।
२० बिघा क्षेत्रफलभित्र बनेको यो पाँचतले भवन यही क्षेत्रका नागरिकको सर्वसुलभ स्वास्थ्योपचारका लागि निर्माण सम्पन्न भएको जीवन विकास सामुदायिक अस्पताल हो ।
अस्पताल सञ्चालनमा पनि आइसकेको छ । अहिले निशुल्क ओपीडी (बहिरङ सेवा) सहित उपचार सेवा जारी रहेको छ । जेठ २४ गते भव्य समारोहका बीच अस्पतालको उद्घाटनको कार्यक्रम तय गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त अस्पतालका सञ्चालक समितिका अध्यक्षसमेत रहेका मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलले बताए ।
उनले अस्पताल सञ्चालनबाट प्राप्त हुने आम्दानी सञ्चालक समितिमा नाफाका रुपमा नबाँडिने व्यवस्थासहितको २०० शय्याको सामुदायिक अस्पताल निर्माण गरिएको बताए ।
अस्पतालले विराटनगरको कोशी अस्पताल सरहकै शुल्कमा औपचारिक रुपमा उपचार सेवा सुरु गर्न लागेको जानकारी दिए ।
‘आम नागरिकलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाहका लागि २०० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण गरिएको छ, स्वास्थ्य सेवा प्रवाह मात्र नभएर नयाँ सामाजिक अभियानको थलानीका रुपमा अस्पताल सञ्चालन गरिएको हो’ उनले भने, ‘सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा न्यूनतम शुल्कमा प्रवाह गर्ने हाम्रो उद्देश्य पूरा हुन लागेको छ ।’
गरिबीरहित नेपालको परिकल्पनासहित २०५४ सालमा स्थापना भएको जीवन विकास समाजको एक अर्ब ६० करोड र बैंकबाट ४० करोड रुपैयाँ लगानी जुटाएर अस्पताल निर्माण गरिएको जनाइएको छ ।
भविष्यमा मेडिकल कलेज समेतको सञ्चालनको तयारीका साथ अस्पताल निर्माण गरिएको अध्यक्ष मण्डलले जानकारी दिए ।
‘२०५४ मा मोरङको अमाहीबरियातीमा २४ घण्टे क्लिनिक सञ्चालन गरेर जीवन विकासले स्वास्थ्य क्षेत्रमा सेवाको काम सुरु गरेको थियो, क्लिनिकबाट जीवन विकास पब्लिक हेल्थ सेन्टर हुँदै अत्याधुनिक सुविधासम्पन्न अस्पताल सञ्चालनको अवस्थामा आइपुग्दा यस क्षेत्रमै खुसियाली छाएको छ’ मण्डलले भने, ‘अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक टोलीबाट सेवा प्रवाह हुनेछ ।’
दुई अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको अस्पतालको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाइएको छ ।
मुनाफा वितरण नगर्ने अस्पतालको रुपमा एकै पटक ठूलो लगानीमा नेपालमै पहिलो मोडेलमा यो सामुदायिक अस्पताल निर्माण भएको अस्पताल प्रशासनले जनाएको छ । यस्तो विशेषताका कारण स्वास्थ्यसम्बन्धि उपलब्ध हुने सेवा सुविधा सहुलियतपुर्ण हुने जनाइएको छ ।
डिजिटल एक्सरे, भिडियो एक्सरे, सिटीस्क्यान लगायतका आधुनिक उपकरणको सहयोगबाट आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरूबाट दैनिक ओपीडी, नर्मल तथा पेनलेस डेलिभरी सेवा, जेनेरल तथा दुरबिनबाट सबै किसिमको अप्रेशन सेवा, बालरोग, डाइलासिस, आईसीयू, एनआईसीयू, सीसीयू, एचडीसीयू, पीआईसीयू नर्सरी, सबै किसिमको ल्याब सेवा प्रदान गरिने दाबी गरिएको छ । अस्पतालमा नाक कान घाँटीको उपचार, आँखा जाँचलगायत उपचार सेवा प्रदान गरिने लक्ष्य रहेको जनाइएको छ ।
अस्पतालले उपचारका लागि जाने सवैका लागि कम्तिमा १० प्रतिशत छुट दिने तयारी गरेको छ । आईसीयूका लागि २५, एनआईसीयूमा ९ सीसीयूमा १० शय्या छुट्याइएको छ ।
View : 271
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved