Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका १५ सिटमा रास्वपाको जित सुनिश्चित

झापा–मोरङ–सुनसरीमै जितविमुख छन् कांग्रेस-एमाले-नेकपाका उम्मेदवार

उद्‌घोष संवाददाता
२३ फागुन २०८२, शनिवार

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा देशको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तनको संकेत देखियो । मतपरिणाम आउने क्रम सुरु हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशभरका धेरै निर्वाचन क्षेत्रमा अग्रता बनाइसकेको छ । केही क्षेत्रमा फराकिलो मतान्तरका साथ उम्मेदवारहरू निर्वाचित हुने क्रम पनि सुरु भएको छ ।

रास्वपा प्रत्यक्षतर्फ ९९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरिरहेको छ । रास्वपाले देशभर २८ सिटको गणना सकिंदा १८ सिटमा जित दर्ता गरिसकेको छ । 

यो अग्रता घट्नेभन्दा बढ्दो दरमा देखिएको छ । यो परिणामले किनारा समाउँदा देशभरबाट दुई तिहाईतर्फको नयाँ राजनीतिक परिदृष्य निर्माण गरेको छ ।

मतगणनाका ताजा नजिताले रास्वपा १२० वटा निर्वाचन क्षेत्रमा सहज जितको संकेत गर्दछ । 

१६५ सिटको प्रतिनिधिसभामा दुईतिहाईका लागि ११० सिट आवश्यक छ, जुन रास्वपाका लागि अति नै सहज देखिन्छ । 

नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीलाई राजनीतिक रुपमा परम्परागत दलहरूको कित्तामा पुर्याएर संसदको पुरा कार्यकाल प्रतिपक्षमा सीमित गर्नेछ । यो परिणाम केवल चुनावी प्रतिस्पर्धाको सामान्य उतारचढाव मात्रै नभई मतदाताले राजनीतिप्रति बनाएको मनोविज्ञानको परिणाम पनि भएको देखाउँछ ।

जेनजी आन्दोलनको नेतृत्व गरेका युवापुस्ताको असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको खोजीले प्रमुख दलहरू चुनावी सिकार बनेका छन् । त्यसको फाइदा रास्वपाको पोल्टामा पुगेको छ ।

यो परिणाम परिपक्क भएर गएमा रास्वपा नेपाली संसदीय राजनीतिमा सबैभन्दा ठूलो शक्ति बन्ने मात्र होइन, सहजै एकल सरकार गठन गर्ने अवस्थामा पुग्ने देखाएको छ ।

कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्र मध्ये मतगणना जारी रहेका २६ वटा क्षेत्रको ताजा रुझानले रास्वपालाई यहाँको बलियो शक्ति बनाउने निश्चित भएको छ । रास्वपाले कोशीका १३ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरिरहेको छ । मोरङ ४ र ६ मा जित दर्ता गरिसकेको छ । 

१४ जिल्लाका २८ क्षेत्रमध्ये आधा क्षेत्र ओगट्ने मोरङ, झापा र सुनसरीमा रास्वपाले बलियो उपस्थिति देखाएको छ । यी तीन जिल्लामा अन्य दलले टाउको उठाउने सम्भावना लगभग अन्त्य गरेको छ ।

प्रमुख शहरी क्षेत्र रहेका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रमा रास्वपाकै बर्चश्व छ । कुनैपनि निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्प्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका परम्परागत दलका उम्मेदवार मतपरिणाममा अघि छैनन् ।

सवैभन्दा धेरै ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा कुनै पनि क्षेत्रमा रास्वपा बाहेकका दलका उम्मेदवार जित्ने सम्भावना देखिएको छैन । मोरङ १ मा रास्वपाका चक्रपाणी न्यौपाने, २ मा कृष्ण कार्की, ३ मा गणेश कार्की र ५ मा आशा झा पनि जित उन्मुख छन् । 

झापाको ५ वटा निर्वाचन क्षेत्रमा पनि रास्वपाकै अग्रता छ । झापा–१ मा निशा डाँगी, २ मा इन्दिरा राना मगर, ३ मा प्रकाश पाठक, ४ मा शम्भुप्रसाद ढकाल र ५ मा बालेन्द्र शाहको छेउ अरु उम्मेदवार पुग्न सकेका छैनन् ।

त्यस्तै सुनसरीका ४ क्षेत्र मध्ये ३ वटामा रास्वपाबाहेक अन्य दलले अग्रता कायम गरेका छैनन् । सुनसरी १ मा रास्वपाकी गोमा तामाङ र श्रम संस्कृति पार्टीका हर्क साम्पाङबिच उछिनपाछिन जारी छ । त्यस्तै सुनसरी–२ मा लालबिक्रम थापा, ३ मा अशोककुमार चौधरी र ४ मा दीपककुमार साहले अग्रता बढाइरहेका छन् ।

मतगणना जारी भएका उदयपुर–१ मा पनि पारशमणि गेलालले निरन्तर अग्रता फराकिलो बनाइरहेका कारण कोशीमा कम्तिमा पनि १५ वटा क्षेत्रमा रास्वपाको जीत सुनिश्चितजस्तै देखाएको हो । 

यही निर्वाचनबाट उदाएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समेत कोशीका ३ वटा निर्वाचन क्षेत्रमा अग्रता बनाइरहेको छ । 

धरान उपमहानगरपालिकाको मेयरबाट राजिनामा दिंदै श्रम संस्कृति पार्टी खोलेर धरान–१ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लडेका हर्कले अग्रता कायम गरेका छन् । उनको पार्टीबाट माटो चुनाव चिन्ह पाएर उम्मेदवार बनेका अन्य दुई उम्मेदवारले  पनि चुनावी मैदानमा अग्रता कायम गरेका छन् ।

शनिबार विहानसम्मको मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवारहरू पाँचथर र खोटाङमा अघि छन् ।

पाँचथरमा श्रम संस्कृतिका हस्तराज शेर्मा, खोटाङमा आरेन राई अरु उम्मेदवारभन्दा अगाडि रहेका छन् ।

View : 56

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved