Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

कृषि एक्स्पोको तयारी पूरा

उद्‌घोष सम्वाददाता
२६ भदौ २०८१, बुधवार

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिले भदौ २७ देखि आयोजना गर्न लागेको कृषि एक्स्पो २०८१ को तयारी पूरा भएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गरी एक्स्पोको तयारी पूरा भएको जनाएको हो ।

महासंघले कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढी हिस्सा ओट्ने कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तारको सम्भावनालाई दृष्टिगत गर्दै कृषि एक्स्पो आयोजना गरेको जनाएको छ । 

कृषि क्षेत्रको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पुर्‍याउने उद्देश्यले कोशी प्रदेशमा पहिलो पटक कटहरी गाउँपालिकाको कृषि थोक बजारमा कृषि एक्स्पो आयोजना गरिएको अध्यक्ष राजेन्द्र राउतले बताए ।

एक्स्पोका मुख्य आकर्षणहरुमा नविनतम् औजार, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनी, उन्नत जातका पशुपंक्षी प्रदर्शनी, पर्यावरण–मैत्री ज्ञान, सीप र प्रविधि, कृषि विज्ञसँग छलफल तथा सेमिनार, अनुसन्धान र परियोजनाहरूको प्रस्तुती, बजार तथा व्यापारका अवसरबारे छलफल गरिने बताए ।

एक्स्पोमा पशुपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव तथा खाद्य महोत्सवसमेत रहने बताए । एक्स्पोमा जिल्ला बाहिरबाट अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था रहने उनले जानकारी दिए ।

एक्स्पोलाई व्यवस्थित र सहज बनाउन काम विभाजन गरी विभिन्न समितिहरु गठन गरिएको जनाइएको छ । एक्स्पो स्थलमा ५ वटा ब्लक मध्ये ‘ए’ मा पशुपंक्षी, ‘बी’ मा कृषि, ‘सी’ मा मेशिनरी,‘डी’ मा खाद्य स्टल र ‘ई’ मा गोष्ठी तथा परामर्श सेवा रहने जनाइएको छ । 

एक्स्पोमा १३० वटा स्टल रहने र भारतको विहार तथा कोलकत्ताबाट २० वटा स्टल आउने पनि जनाइएको छ ।

एक्स्पो अवधिभर कृषि, पशुपंक्षी, कष्टम हाइरिङ, जलवायु परिवर्तन, जैविक मल तथा विषादी बनाउने सीप र प्रयोग विधि लगायतका बिषयमा नेपाल तथा भारतका विज्ञबाट संवाद हुने जनाइएको छ । 

कृषि व्यवसायी र किसानबीच ‘बीटुबी’ कार्यकमसमेत राखिएको अध्यक्ष राउतले बताए । 

एक्स्पोमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु, कृषि ज्ञान केन्द्र, १३७ वटै स्थानीय तह, कृषक, कृषि व्यवसायी, सहकारी, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि कलेजबाट सहभागिता रहने छन् ।

साथै एक्स्पोको उद्घाटनका अवसरमा भारतको विहार राज्यका कृषिमन्त्रीलगायत कृषि विभाग र वीज विभागका विज्ञहरुको सहभागिता रहने जनाइएको छ । कृषि एक्स्पो (पदर्शनी)मा आउने सवैलाई प्रवेश निःशुल्क गरिएको जनाइएको छ ।

View : 152

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved