Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
प्रविधि

एनसेलको मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिम सक्रिय

उद्‌घोष सम्वाददाता
१६ असार २०८१, आइतवार

विराटनगर । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्‍यापिड रेस्पोन्स टोली (आरआरटी)हरूले काम थालेका छन् । यसले गर्दा हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको छ ।

मनसुनजन्य प्रकोपहरूका कारण दूरसञ्चार सेवामा हुन सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरूलाई सधैँ अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धताबमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ । 

ती टोलीहरूले तदारुकताका साथ काम गरेका कारणले हावाहुरी र भारी वर्षाको असरका बावजुद असार १२ गते बुधबार कोशी, मधेस र गण्डकी प्रदेशका १५ भन्दा बढी जिल्लाका ११६ मोवाइल टावर सञ्चालनमा असर गरे पनि ४ घण्टा ३० मिनेट भित्रमा ७० प्रतिशतभन्दा बढी टावरहरूलाई पुनः सञ्चालनमा ल्याइएको थियो ।

हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइबर ब्रेक भएको, रुखहरू र नेपाल विद्युत प्राधिकरणको खम्बा ढलेर विद्युत आपूर्तिमा असर परेको अवस्था थियो ।

आरआरटीहरूलाई विशेष रूपमा आपत्कालीन अवस्थाहरू सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको छ ।

बर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाहरूको द्रुतगतिमा पुनः सञ्चालन र निरन्तरता सुनिश्चित गर्ने उद्देश्य अनुरुप यी आर आरटीहरू गठन गरिएको एनसेलले जनाएको छ । यस्तै एनसेलले विपद् पूर्वतयारी स्वरुप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ ।

विपद्का कारण सडक अवरोध भएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेल प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्यनजर गरेर एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ ।

विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीहरूले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ । एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन हृवील पनि तयार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमबारे एसएमएस अलर्टमार्फत पूर्वजानकारी प्रदान गर्दै आएको छ ।

गत वर्ष मात्र एनसेलले मावनजीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो । विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढी सम्बन्धी पूर्वसूचना लिन पनि सकिने जनाइएको छ  ।

View : 211

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved