Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

उद्‌घोष सम्वाददाता
१७ असोज २०८१, बिहिवार

गोरखा, १७ असोज । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ ।

नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उनले बताए ।

“गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार/चार मानाको दरले जौ को जमरा राखिएको छ”, उनले भने, “उपल्लो कोट, तल्लो कोटहरुमा पनि एक/एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।”

यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ ।

प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ ।

बडादसैँमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ ।

घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ । रासस

View : 77

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved