विराटनगर, २६ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दशैं नजिकिदै गर्दा प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावकावीच दशैं मनाउन आग्रह गरेका छन् ।
कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढी पहिरोले जनधनको ठूलो क्षति पुर्याएकोले विपद्को सामना गर्दै एक आपसमा सहयोग, सद्भाव र भातृत्वका साथ यस वर्षको दशैं मनाउन उनले आग्रह गरे ।
विजया दशमी २०८१ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले विपद्लाई साहसमा बदल्न सवैको सहकार्य र हातेमालो जरुरी भएको बताए ।
‘हाम्रो संस्कृति, हाम्रो गौरव’ का रुपमा रहेको नेपालीहरूको महान् चाड दशैंको शुभ अवसरमा कोशी प्रदेश सहित देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा मुख्यमन्त्री कार्कीले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
दशैंले हामी सबैमा नयाँ उत्साह र उमङ्गका साथ असल कामहरू गर्न हौसला र सकारात्मक उर्जा प्रदान गर्न दुर्गा भवानीबाट आर्शिवाद प्राप्त होस् भनी उनले कामना गरेका हुन् ।
शुभकामना सन्देशमा भनिएको छ, ‘दशैंका अवसरमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्त्व अझ बढी छ ।
हाम्रो मुलुकमा परम्परागत रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न थप योगदान गरिरहेका छन् ।’
View : 324
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved