Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

यू-१९ प्रिमियर कप: यूएईलाई १९ रनले हराउँदै नेपाललाई उपाधि

उद्‌घोष सम्वाददाता
७ कार्तिक २०८०, मङ्गलवार

विराटनगर, ७ कात्तिक : नेपालले एसिसी यू–१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लुइस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले यो उपाधि चुमेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

वर्षा रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा यूएईले २७ ओभरमा १९८ रनको लक्ष्य प्राप्त गरेको थियो । तर यूएई २६ दशमलव ५ ओभरमा १७८ रन बनाउँदै अलआउट भएको थियो ।
नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए । उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरेका थिए ।

त्यस्तै उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए । अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भएका थिए । यूएईका लागि हरित शेठ्ठीले पाँच विकेट लिए भने कप्तान आयन खानले नेपालका दुई महत्वपूर्ण विकेट लिन सफल भएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको यूएईले निकै सन्तोषजनक सुरुवातले नेपाल संकटतर्फ धकेलिएको थियो । तर यूएई नजितामा निरास हुनुपर्यो । यूएईका लागि ध्रुव परेशारले सर्वाधिक ५९ रनको योगदान गरे । कप्तान आयन खानले ३० र अर्यान्श शर्माले ३२ रन जोडेपनि उपाधिका लागि त्यो काम लागेन ।

नेपालका लागि आकाश त्रिपाठीले ४ विकेट लिए । त्यस्तै सुवास भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामीले १ विकेट लिए । फाइनल खेलको बलिङमा दिपेश कँडेल भने चल्न सकेनन् ।

च्याम्पियन बनेको नेपालसँगै यूएई पनि यू–१९ एसिया कपमा छनोट भएको छ । तेस्रो भएको जापान पनि एसिया कपमा छनोटमा परेको छ । आउँदो डिसेम्बरमा एसिया कपका खेलहरु पाकिस्तान तय भइसकेका छन् ।

View : 116

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved