Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

नोबेलमा नाकको शल्यक्रिया गर्दा आँखाको ज्योति गुम्यो, छानबिन समिति गठन

उद्‌घोष संवाददाता
१४ मंसिर २०८२, आइतवार

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नाकको शल्यक्रिया गर्दा चिकित्सकको लापरबाहीका कारण ७ वर्षीय बालकले आँखाको ज्योति गुमाएको गम्भीर घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन समिति गठन गरेको छ । 

घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कानूनी दायरामा ल्याउन मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङको आग्रहमा तीन सदस्यीय छानविन समिति बनाएको हो ।

मन्त्रालयले गठन गरेको समितिको संयोजक वीर अस्पतालकी नाक, कान, घाँटी (ईएनटी) विभाग प्रमुख डा अनिता जीसीलाई जिम्मेवारी दिइएको छ । 

समितिमा कोशी अस्पतालका विशेषज्ञ डा वरूण देव र मोरङ प्रशासनका अधिकृत रामप्रसाद लुइटेल सदस्य छन् । 

समितिले शुक्रबारदेखि अस्पतालमै पुगेर बालकको ‘केस हिस्ट्री’, शल्यक्रियामा सहभागी चिकित्सकका विवरण तथा उपचारसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताइएको छ । प्रतिवेदन बुझाउन समितिलाई एक साताको समय दिइएको छ ।

सुनसरी इटहरी–१ का ७ वर्षीय जेनिस पाठकको नाकमा मासु पलाएपछि ४ मंसिरमा नोबेलमा भर्ना गरिएको थियो । बालकको ५ मंसिरमा शल्यक्रिया गरिएको थियो । 

शल्यक्रियापछि आँखामा समस्या देखिएपछि अस्पतालले भोलिपल्टै डिस्चार्ज गरेको थियो । घर पुगेका बालकले अचानक आँखा नदेख्ने समस्या देखिएपछि परिवारले उनीलाई विराटनगर आँखा अस्पताल पुर्याएका थिए । 

अस्पतालले परीक्षणका क्रममा नाकको शल्यक्रियामा नै भित्री हड्डी काटिदा आँखासम्म जाने अप्टिक नर्भ क्षति भएको पुष्टि भएको थियो ।

चिकित्सकहरूले ज्योति फर्कने सम्भावना नरहेको बताएपछि परिवारले चिकित्सकले गल्ती ढाकछोप गर्न खोजेको र समस्या सामान्य भएको भन्दै गुमराहमा राखेको आरोप लगाउँदै मोरङ प्रशासनमा उजुरी दिएका थिए । 

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले घटना अत्यन्त संवेदनशील भएकाले मन्त्रालयबाटै विशेषज्ञ टोली झिकाएर छानबिन थालिएको बताए ।

View : 190

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved